October 15, 2024, Tuesday
२०८१ आश्विन २९

खराब लयमा रहेको नेपालले आज विश्वकप लिग–२ मा ओमानको सामना गर्दै

विश्वकप लिग-२ अन्तर्गत क्यानडा सिरिजको अन्तिम खेलमा नेपालले आज राति ८:४५ मा ओमानको सामना गर्दैछ। क्यानडा भ्रमण आफ्ना प्रारम्भिक तीन खेल गुमाएर दबाबमा परेको नेपाल कम्तिमा अन्तिम खेल जित्दै २ अंक तालिकामा थप्न चाहन्छ।

Advertisement

क्यानडामा तीन खेल खेलिसकेको नेपाल घरेलु टोलीसँग दुवै खेलमा पराजित हुँदा ओमानसँग पहिलो खेलमा हारेको छ। त्यसैले ओमान विरुद्धको अन्तिम खेल जित्दै आफ्नो आलोचनालाई केही कम गर्ने प्रयासमा नेपाल रहने छ।

लगातार खराब ब्याटिङले पिरोलिएको नेपाल मंगलबार पनि आफ्नो ब्याटिङ अस्थिरता सुधारको प्रयासमा हुनेछ। आफ्नो पहिलो खेलमा नेपाल क्यानडासँग १ सय ३ रनले पराजित हुन पुगेको थियो। उक्त खेलमा २ सय ५३ रनको लक्ष्य पछ्याउँदा केबल १ सय ५० रनमै समेटियो। त्यस्तै दोस्रो खेलमा केही प्रतिस्पर्धात्मक स्कोर बनाएपनि हार टार्न नेपाल असफल भयो।

ओमानसँगको उक्त खेलमा नेपाल अन्तिम बल बाँकी हुँदा १ विकेटले पराजित भयो। नेपालले दिएको २ सय २० रनको लक्ष्य ओमानले अन्तिम विकेट बाँकी रहँदा पुरा गरेको थियो। तेस्रो खलमा पनि नेपाल कमजोर ब्याटिङका कारण स्तब्ध बन्यो। पहिले ब्याटिङ गरेको नेपालले १ सय ८१ रन मात्र बनाउन सक्यो। जवाफमा ४८ बल बाँकी हुँदै क्यानडाले ५ विकेटले खेल आफ्नो पक्षमा पार्योत।

क्यानडा नेपालसँगको महत्त्वपूर्ण ४ अंकपछि ११ खेलबाट १४ अंकका साथ तालिकाको शीर्ष स्थानमा पुगेको छ। यद्यपि, तुलनात्मक रुपमा सहज मानिएको यो सिरिजमै नेपालले लय गुमाएसँगै बाँकी दिन झनै कठिन हुने सम्भावना बढेको छ । यसपछि अमेरिकी सिरिज खेल्ने तयारीमा रहेको नेपालले त्यहाँ स्कटल्यान्ड र अमेरिका समिलित सिरिजमा प्रतिस्पर्धा गर्नेछ।

तर अब क्यानडा सिरिजको अन्तिम खेलमा ओमानसँग २ अंक नलिने हो भने नेपाल अंकतालिकाको पुछारतर्फ धकेलिने जोखिममा रहने छ। नेपाल र युएइको समान २ अंक रहँदा युएइले ५ मात्र खेल खेलेको छ। नेपालले भने ७ खेल खेलेको छ। नेपाल सातौं स्थानमा रहँदा युएइ आठौं स्थानमा छ।