डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्ड समूहचरणबाटै बाहिरिने खतरा
एकदिवसीय विश्वकपमा ७ औं स्थानमा रहेर विश्वकप अभियान समाप्त गरेको इंग्ल्यान्डले जारी टी-२० विश्वकपमा पनि गतिलो सुरुवात गर्न सकेको छैन। स्कटल्यान्डविरुद्ध वर्षाका कारण रद्ध भएर अंक बाँडेको इंग्ल्यान्डले अस्ट्रेलियाविरुद्धको खेल ३६ रनले हारेको छ।
यो हारसँगै डिफेन्डीङ च्याम्पियन इंग्लिस टोली प्रतियोगिताबाट बाहिरिने खतरा बढेको छ। अब शीर्ष आठको सम्भावना कायम राख्न उसले बाँकी दुवै खेलमा जित निकाल्नु पर्नेछ। यदि उसले आफू अनुकूल नतिजा निकाल्न असफल भए प्रतियोगिताबाट बाहिरिने छ।
बारबडोसको केनिंग्स्टन ओभलमा शनिबार राति भएको खेलमा इंग्ल्यान्डका कप्तान जोस बटलरले टस जितेर अस्ट्रेलियालाई पहिले ब्याटिङको निम्तो दिएका थिए। अस्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १ रन बनाएको थियो। जवाफमा इंग्ल्यान्ड १ सय ६५ रन माब बनाउन सक्यो।
इंग्याल्यान्डका लागि कप्तान बटलरले ४२ रन बनाउनु सर्वाधिक रह्यो। उनी बाहेक फिल साल्टले ३७ रन र विलि ज्याकले १० रन बनाए। त्यस्तै मोइन अलीले २५ रन र हेरी ब्रुक्सले २० रन तथा लियम लिभिस्टिङले १५ रन बनाए। अस्ट्रेलियाका लागि एडम जम्पा र प्याट कमिन्सले समान २-२ विकेट लिंदा जोस ह्याजलवुड र मार्कुस स्टोइनिसले १-१ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १ रन बनाएको थियो। उसका लागि शीर्ष क्रमका ब्याटरहरुले राम्रो प्रदर्शन गरे। ओपनर ट्रेभिस हेड र डेभिड वार्नरले पहिलो विकेटका लागि ७० रनको साझेदारी गरे। हेडले ३४ रन बनाउँदा वार्नर ३९ रन बनाएर आउट भए। त्यस्तै कप्तान मिचेल मार्सले ३५ रन बनाउँदा ग्लेन म्याक्सवेलले २८ रन बनाए। त्यस्तै मार्कुस स्टोइनिसले ३० तथा टिम डेभिडले ११ र म्याथ्यु वेडले १७ रनको अविजित इनिङ खेले।
जारी प्रतियोगितामा अस्ट्रेलियाको यो लगातार दोस्रो जित हो। यसअघि अस्ट्रेलियाले पहिलो खेलमा ओमानलाई हराएको थियो। इंग्ल्यान्डले भने स्कटल्यान्डसँग अंक बाँडेको थियो।
प्रतिकृया दिनुहोस्