वेस्ट इन्डिजविरुद्ध भारतको क्लीन स्वीप
तेस्रो एकदिवसीय खेलमा वेस्ट इन्डिजलाई ११९ रनले पराजित गर्दै भारतले सिरिज ३–० ले क्लीन स्वीप गरेको छ । भारतीय टोलीले ३९ वर्षमा वेस्ट इन्डिजमा पहिलो पटक एकदिवसीय शृङ्खला क्लिन गर्न सफल भएको हो ।
तेस्रो एकदिवसीय खेलमा भारतले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । भारतले ३६ ओभरमा ३ विकेट गुमाएर २२५ रन बनाएको थियो । शुभमन गिल ९८ रनमा अविजित रहे । कप्तान शिखर धवनले ५८ र श्रेयस अय्यरले ४४ रन बनाए । त्यसपछि ठूलो पानी पर्न थाल्यो र भारतीय इनिङ्स त्यहीँ समाप्त भयो। डकवर्थ लुइस नियम अनुसार वेस्ट इन्डिजले ३५ ओभरमा २५७ रनको लक्ष्य पायो । तर क्यारेबियन टोली २६ ओभरमा १३७ रनमा सिमित भयो ।
ब्रान्डन किङ र निकोलस पूरनले ४२–४२ रन बनाए । लेग स्पिनर युजभेन्द्र चहलले ४ विकेट लिए । मोहम्मद सिराज र शार्दुल ठाकुरले २–२ विकेट लिए । अक्षर पटेल र फेमस कृष्णाले १–१ विकेट लिए । वेस्ट इन्डिजको सुरुवात खराब रह्यो । मोहम्मद सिराजले एकै ओभरमा काइल मेयर्स र शेमार ब्रुक्सको विकेट लिए ।
दुवै आउट भएपछि शाई होपले केही समय इनिङ्सलाई सम्हालेका थिए तर ३३ बलमा २२ रन बनाएर आउट भए । उनको विकेट युजभेन्द्र चहलले लिए । एक बिन्दुमा यस्तो लाग्थ्यो कि ब्रान्डन किङ टीम इन्डियाका लागि खतरा साबित हुन सक्छन्। उनले ३७ बलमा ४२ रन खेल्दै थिए तर अक्षर पटेलले क्लिन बोल्ड गर्दै वेस्ट इन्डिजलाई चौथो झटका दिए । यसपछि भारतीय आक्रमणको अगाडि कुनै क्यारेबियन ब्याट्सम्यान टिक्न सकेनन् ।
प्रतिकृया दिनुहोस्