December 7, 2021, Tuesday
२१ मंसिर २०७८, मंगलवार

न्युजिल्यान्डविरुद्ध भारत पाँच विकेटले विजयी

सूर्यकुमार यादवको अर्धशतकप्रेरित भारतले पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा न्युजिल्यान्डलाई पाँच विकेट हराएको छ । जितसँगै भारतले तीन खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा १–० को अग्रता बनाएको छ । 

Advertisement

जयपुरस्थित सवाई मानसिंह रंगशालामा टर हारेर ब्याटिङका लागि निम्त्याइएको न्युजिल्यान्डले ६ विकेट गुमाएर १६४ रन बनाएको थियो । १६५ रनको लक्ष्य भारतले दुई बल बाँकी हुँदा पाँच विकेट गुमाएर पूरा गरेको हो । 

‘‘आजको खेलमा हामीले सोचेजस्तो सजिलो भएन । यसबाट खेलाडीले धेरै पाठ सिकेका छन्,’’ भारतको कप्तान रोहित शर्माले भने, ‘‘हाम्रो खेलाडीले जसरी खेल सके त्यसबाट कप्तानका रुपमा म खुसी छु । केही खेलाडीलाई हामीले गुमाएका छौं । त्यसको स्थानमा अन्य खेलाडीले आफूलाई प्रमाणित गर्ने मौका पाएका छन् । एक समय हामीलाई १८० को हाराहारीमा स्कोर बन्छ जस्तो लागेको थियो । तर, आज बलरले राम्रो गरे ।’’

न्युजिल्यान्डका मार्टिन गुप्टिल र मार्क चापमनले अर्धशतक बनाएका थिए । ओपनर डरेल मिचेल पहिलो ओभरमै आउट भएपछि गुप्टिल र चापमनले भ्रमणकारी टोलीलाई डोहर्याएका थिए । दुई जनाले दोस्रो विकेटका लागि १०९ रनको साझेदारी गरे । 

चापमनले ५० बलमा ६ चौका र दुई छक्कासहित ६३ रन बनाए । चापमन आउट भएपछि ब्याटिङमा आएका ग्लेन फिलिप्स पनि शून्यमा पवेलियन फर्किए । 

त्यसपछि ओपनर गुप्टिलले टिम सेइफर्टसाग चौथो विकेटका लागि ४० रनको साझेदारी गरे । ४२ बलमा तीन चौका र चार छक्का प्रहार गरेका गुप्टिल ७० रन बनाएर आउट भए । उनी आउट हुँदा न्युजिल्यान्ड १५०/४ को स्थितिमा थियो । 

सेइफर्टले १२ रन बनाए । रचिन रभिन्द्रले सात रन बनाउँदा मिचेल सन्टनर चार रनमा अविजित रहे । 

भारतका भुवनेश्वर कुमार र रविचन्द्रन आश्विनले समान दुई विकेट लिए । दीपक चहर र मोहम्मद सिराजले एक एक विकेट लिए । 

१६५ रनको लक्ष्य पछ्याएको भारतका ओनपर केएल राहुल र कप्तान रोहित शर्माले पहिलो विकेटका लागि ५० रनको साझेदारी गरे । केएल राहुलले १५ रनमा आउट भए । त्यसपछि रोहित शर्माले सूर्यकुमार यादवसँग दोस्रो विकेटका लागि ५९ रनको साझेदारी गरे । 

रोहितले ३६ बलमा पाँच चौका र दुई छक्कासहित ४८ रन बनाए । रोहित आउट भएपछि सूर्यकुमारले रिशब पन्तसँग तेस्रो विकेटका लागि ३५ रनको साझेदारी गरे । सूर्यकुमारले ४० बलमा ६ चौका र तीन छक्कासहित ६२ रन बनाए । 

रिशब पन्त १७ रनमा अविजित रहे । श्रेयस ऐयरले पाँच तथा बेनकटेश ऐयरले चार रन बनाए । 

न्युजिल्यान्डका ट्रेन्ट बोल्टले दुई विकेट लिँदा टिम साउथी, मिचेल सन्टनर र डरेल मिचेलको नाममा एक/एक विकेट रह्यो । भारत भ्रमणमा रहेको न्युजिल्यान्डले दोस्रो खेल शुक्रबार राँचीमा खेल्नेछ ।