December 7, 2021, Tuesday
२१ मंसिर २०७८, मंगलवार

सेमिफाइनल दौडबाट बाहिरिएको भारतको नामिबियामाथि जित

सेमिफाइनल दौडबाट बाहिरिएको भारतले सुपर–१२ को अन्तिम खेलमा सहज जित निकालेको छ । योसँगै भारतले जारी संस्करणको आफ्नो अन्तिम खेलमा नामिबियामाथि ९ विकेटले जित हासिल गरेर सुखद अन्त्य गरेको छ । 

Advertisement

सुरुवाती दुई खेलमा पराजित भएको भारतले पछिल्लो दुई खेलमा जित निकाले पनि सेमिफाइनलमा स्थान बनाउन सकेन । समूह २ मा पाकिस्तानले १० अङ्क जोडेर समूहको शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा स्थान बनाउँदा ८ अङ्क जोडर दोस्रो स्थानमा रहँदै न्युजिल्यान्डले सेमिफाइनलमा स्थान बनायो ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडिममा नामिबियाले जितका लागि दिएको १३३ रनको लक्ष्य भारतले १५ ओभर २ बलमा १ विकेट गुमाएर १३६ रन बनायो । 

भारतका लागि केएल राहुल र रोहित शर्माले अर्धशतकीय पारी खेले । ३७ बल खेलेका रोहितले ५६ रनको अर्धशतकीय पारी खेल्दा ३६ बल खेलेका राहुलले ५४ रनको अर्धशतकीय पारी खेले । 

भारतका लागि सूर्यकुमार यादवले २५ रनको योगदान गरे । बलिङतर्फ नामिबियाका लागि जान फ्रिलिङ्कले एक विकेट हात पारे । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३२ रन बनायो । नामिबियाका लागि डेभिड विसले सर्वाधिक २६ रनको योगदान गरे । 

त्यस्तै स्टेफन बार्डले २१ रन जोडे । बलिङतर्फ भारतका लागि रवीचन्द्र आश्विन र रवीन्द्र जडेजाले समान तीन–तीन विकेट लिए । त्यस्तै जस्प्रित बुमराहले दुई विकेट लिए ।  

अन्तिम जितसँगै भारत समूह २ को तेस्रो स्थानमा रह्यो । भारतलले ५ खेलबाट ६ अङ्क जोड्यो । भारत सेमिफाइनल दौडबाट बाहिरि सकेको थियो । 

पराजित नामिबियाले ५ खेलबाट २ अङ्क जोड्यो ।