December 7, 2021, Tuesday
२१ मंसिर २०७८, मंगलवार

एएफसी एसियन कप छनोट : फराकिलो हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरियो

आयोजक ताजिकिस्तानसँग ६–० ले पराजित भएसँगै नेपाल एएफसी यू–२३ एसियन कप छनोट प्रतियोगिताबाट बाहिरिएको छ ।

Advertisement

लगातार दोस्रो हारसँगै नेपालको अघिल्लो चरण पुग्ने सम्भावना समाप्त भएको हो । छनोट प्रतियोगितामा ११ वटा समूह छन् । प्रत्येक समूहबाट विजेता टोलीले फाइनल चरणमा स्थान बनाउनेछन् । त्यस्तै ११ समूहका उत्कृष्ट चार उपविजेताले पनि उज्वेकिस्तानमा हुने एसियन कपमा स्थान पक्का गर्नेछन् ।

हारपछि अंकबिहीन नेपाल समूह ‘बी’ को पुछारमा छ । अंकबिहीन नै रहेको लेबनान तेस्रो स्थानमा छ । फराकिलो जितसँगै आयोजक ताजिकिस्तान ६ अङ्कका साथ शीर्ष स्थानमा छ । समान ६ अंक जोडेको इरान गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ । 

रिपब्लिकन सेन्ट्रल रंगशालामा घरेलु टोली ताजिकिस्तानले शेर्भोनी मबात्शोभको गोलबाट २५औँ मिनेटमा अग्रता लिएको थियो ।  शराफजोन सोलेकहोभले ३२औँ मिनेटमा अग्रता दोब्बर बनाए । ताजिकिस्तानका सोइरोभ रुस्तमले ४०औँ मिनेटमा अर्को गोल थपेका थिए ।

६१औँ मिनेटमा मुहम्मदाली अजिजबोएभले चौथो गोल थपे । बाखदत खानोनोभले पेनाल्टीमा गरेको गोलबाट ६८औँ मिनेटमा ताजिकिस्तानलाई पाँच शून्यको अग्रता दिए । इमोमाली अहमाधानले ७२औँ मिनेटमा अर्को गोल थपेपछि ताजिकिस्तानले सहजै तीन अङ्क पक्का गरेको हो ।

छनोट प्रतियोगिताको पहिलो खेलमा नेपाल इरानसँग ४–० ले पराजित भएको थियो । इरानले आजै सम्पन्न अर्को खेलमा लेबनानलाई २–० ले हराएको थियो । ताजिकिस्तानले पनि पहिलो खेलमा लेबनानलाई १–० ले हराएको थियो ।