December 3, 2021, Friday
१७ मंसिर २०७८, शुक्रबार

इंग्ल्याण्ड शानदार जितसहित विश्वकप छनौट नजिक

इंग्ल्याण्ड विश्वकप फुटबलमा छनौटको नजिक पुगेको छ । युरोपियन क्षेत्रको छनौट चरण अन्तर्गत समूह आई मा रहेको इंग्ल्याण्डले शनिबार राति भएको खेलमा एन्डोरालाई पराजित गरेको हो ।

Advertisement

अवे मैदानमा भएको खेलमा ५–० को जित निकाल्ने क्रममा इंग्ल्याण्डका लागि १७ औँ मिनेटमा बेन चिल्वेल, ४० औँ मिनेटमा बुकायो साका, ५९ औँ मिनेटमा ट्यामी अब्राहम, ७९ औँ मिनेटमा जेम्स वार्ड–प्रोव्से र ८६ औँ मिनेटमा ज्याक ग्रीलिशले गोल गरेका हुन् ।

जितपछि इंग्ल्याण्डको सात खेलबाट १९ अंक भएको छ । शनिबार राति नै भएको खेलमा हंगेरीलाई १–० ले पराजित गरेको अल्बानिया १५ अंकसहित दोस्रो स्थानमा छ । सान मारिनोलाई ५–० ले पराजित गरेको पोल्याण्ड १४ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

शनिबार राति भएका अरु खेलमा रिपब्लिक अफ आयरल्याण्डले अजर बैजानलाई ३–०, ग्रीसले जर्जियालाई २–०, स्वीडेनले कोसोभोलाई ३–०, युक्रेनले फिनल्याण्डलाई २–१, स्कटल्याण्डले इजरायललाई ३–२, सर्बियाले लग्जेम्बर्गलाई १–०, स्वीट्जरल्याण्डले उत्तरी आयरल्याण्ड र अस्ट्रियाले फारोइ आइल्याण्डलाई २–० ले पराजित गरेका छन् ।

यस्तै शनिबार राति नै भएको खेलमा डेनमार्कले माल्डोभामाथि ४–० को जित दर्ता गरेको छ ।