March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

च्याम्पियन्स लिग : बार्सिलोनाको अहिलेसम्मकै खराब सुरुवात, बायर्नको गोल वर्षा

बेनफिकासँग पराजित हुँदै बार्सिलोनाले च्याम्पियन्स लिगमा हालसम्मकै सबैभन्दा खराब सुरुवात गरेको छ । पहिलो खेलमा बायर्न म्युनिखसँग ३–० गोलले पराजित भएको बार्सिलोना दोस्रो खेलमा पनि सोही गोलअन्तरले बेनफिकासँग पराजित भएको हो । पराजयसँगै बार्सिलोना अङ्कविहीन रहँदै समूह ई को पुछारमा सीमित बनेको छ ।

Advertisement

डार्विन नुनेजले खेलको तेस्रो मिनेटमा नै बेनफिकालाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा राफा सिल्भाले अग्रता दोब्बर बनाए भने नुनेजले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई सहज जित दिलाए । यता बार्सिलोना भने सन् २००३–०४ सिजनपछि पहिलोपटक प्रतियोगिताको नकआउट चरणमा नपुग्ने खतरा बढेको छ ।

Advertisement

उता, समूहकै अर्को खेलमा बार्यन म्युनिखले डाइनाभो किएभलाई ५–० गोलको विशाल अन्तरले पराजित गरेको छ । बायर्नको जीतमा रोबार्ट लेवान्डोस्कीले दुई गोल गरे । पछिल्ला १०० खेलमा बायर्नका लागि उनले ११९ गोल गर्न सफल भएका छन् । च्याम्पियन्स लिगका पछिल्ला ६ वटा खेलमा उनले गोल गरेका छन् ।

बायर्नको जीतमा अन्य गोल सर्जी ग्नाब्री, लेरोय साने र एरिक म्याक्सिम चुपो मोटिङले गरे । बायर्नले समूह ईको दुई खेलमा ८ गोल गरिसकेका छन् । बायर्न ६ अङ्कसहित समूहको शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानमा बेनफिकाको ४ अङ्क रहेको छ । डाइनामो किएभको १ अङ्क छ भने बार्सिलोनाको शून्य अङ्क रहेको छ ।