एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको छैटौँ जित


दुई खेलको एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत पहिलो खेलमा नेपालले मंगलबार पपुवा न्युगिनीलाई २ विकेटले हराएको छ।
एक सय ३५ रनको लक्ष्य पाएको नेपाल कुनै समय ७ विकेटमा ८२ रनको स्थितिमा थियो। तर सोमपाल कामी र रोहित पौडेलले सम्हालिएर ब्याटिङ गरेपछि नेपालले ३९ ओभर ३ बलमा ७ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। रोहितले ४१ रन बनाए। सोमपाल २२ रनमा अविजित रहे। यी दुईबीच आठौँ विकेटका लागि ५१ रनको साझेदारी भएको थियो।
नेपालका प्रारम्भिक ब्याट्सम्यानद्धय कुशल भुर्तेलले १५ र आसिफ शेखले ३० रन जोडे। शरद भेषावकर र ज्ञानेन्द्र मल्ल समान ६ रन जोडेर आउट भए।
आरिफ शेखले ९ र कुशल मल्लले एक रन मात्र बनाए। पवन सर्राफले खाता खोल्न सकेनन्। रोहित पौडेल १२ रनमा खेल्दैछन्। पपुआ न्युगिनीका गौदी टोकाले तीन तथा दामिएन रवु र चाड सोपरले दुई दुई विकेट हात पारे।
यसअघि ओमानको मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको पपुआ न्युगिनीले ३३ ओभरमा सबै विकेट गुमाएर १ सय ३४ रन जोड्यो।
नेपालका सन्दीप लामिछानेले चार तथा कुशल मल्ल र विक्रम सोबले दुई दुई विकेट हात पारे। सोमपाल कामीले एक विकेट हात पारे। विक्रम सोबले गतिलो सुरुवात दिलाएपछि पपुवा न्युगिनीले ९ रन जोड्दा २ विकेट गुमाएको थियो।
तेस्रो विकेटका रुपमा पपुवा न्युगिनीले ५० रनको साझेदारी गरेपछि सन्दीपले चार्लेस अमिनीलाई आउट गरेका थिए।
सन्दीपले आफ्नो पहिलो ओभरमा अमिनीलाई व्यक्तिगत २३ रनमा आउट गरे। लगत्तै अर्को ओभरमा कुशल मल्लले लयमा देखिएका लेगा सिआकालाई व्यक्तिगत ३० रनमा आउट गरे।
त्यसपछि पपुवा न्युगिनीका ब्याट्सम्यान लामो समय सम्हालिन सकेका छैनन्। ८५ रन जोड्दा पाचौँ विकेटका रुपमा सन्दीपले सेसे बाउलाई आउट गरेपछि पपुवा न्युगिनी थप संकटमा परेको थियो।
सन्दीपले १० ओभरमा ३५ रन खर्चिए। सोमपालले ७ ओभरमा ३७, विक्रमले पाँच ओभरमा २० र कुशलले ७ ओभरमा १९ रन खर्चिए।
नेपालले दोस्रो खेल शुक्रबार खेल्ने छ। नेपालले हालसम्म एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा ११ खेल खेलेकामा ६ जित र पाँच हारको नतिजा निकालेको छ। यूएईसँग दुई जित र दुई हार, अमेरिकासँग २ जित, नेदरल्यान्ड्ससँग एक जित र एक हार तथा ओमानसँग दुई हार ब्यहोरेको छ।
प्रतिकृया दिनुहोस्