April 18, 2025, Friday
२०८२ बैशाख ५

मेस्सीले छाडे बार्सिलाेना, उपलब्धि ३० उपाधि, ६ बालोन डि’ओर

मेस्सीले बार्सिलोना छाड्ने भएका छन् । तर उनले क्लबाट हासिल गरेको उपलब्धिको रेकर्ड दशकौँसम्म कायम रहनसक्छ । उनले बार्साबाट ३० वटा उपाधि जितेका छन् । 

यसक्रममा सर्वाधिक ६ पटक बालोन डि’ओर जित्ने इतिहास पनि राखेका छन् । उनले १० पटक लिगा र ४ पटक च्याम्पियन्स लिग जितेका छन् । मेस्सीले बार्साबाट जितेको अन्तिम उपाधि २०२०-२१ को कोपा डेल रे हो । एथलेटिक क्लबविरूद्वको फाइनलमा उनले २ गोल गरेका थिए ।

Advertisement

बार्साको इतिहासमा यति धेरै उपाधि र अवार्ड कसैले जितेको छैन ।

स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीले क्लब छाडेका छन्। बार्सिलोनाले बिहीबार मेस्सीसँग सम्झौता नविकरण नभएको जनाएको छ।

बार्सिलोनाले ला लिगाको वित्तीय संरचनाको कानुनी अड्चनले गर्दा मेस्सीसँग सम्झौता नविकरण गर्न नसकिएको जानकारी दिएको छ।

यस अघि मेस्सीले बार्सिलोनासँग पाँच वर्षको नयाँ सम्झौता गर्ने बताइएको थियो। तर, बार्सिलोनाले एक विज्ञप्ति निकाल्दै मेस्सीसँग सम्झौता नविकरण नभएको जनाएको छ ।

‘फुटबल क्लब बार्सिलोना र लियोनेल मेस्सी दुवै पक्ष नयाँ करार सम्झौता गर्ने सहमति र स्पष्ट उद्देश्यसहित छलफलमा बसे पनि आर्थिक र संरचनात्मक बाधा (स्पेनिस ला लिगाको नियम) का कारण त्यो सम्भव हुन सकेन,’ विज्ञप्तिमा भनिएको छ ।

‘यस अवस्थाका कारण मेस्सी एफसी बार्सिलोनामा रहने छैनन्। क्लब र खेलाडीको इच्छा अन्ततः पूरा नभएकोमा दुवै पक्ष दुःख व्यक्त गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ।

बार्सिलोनाले मेस्सीलाई क्लबप्रति पुर्‍याएकाे योगदानका लागि धन्यवाद दिँदै भविष्यका लागि शुभकामना व्यक्त गरेको छ।

बार्सिलोनाका कीर्तिमानी खेलाडी मेस्सीले ७ सय ७८ खेलमा ६ सय ७२ गोल गरेका छन्। मेस्सीले बार्सिलोनाबाट १० ला लिगा उपाधि जित्दा ४ च्याम्पियन्स लिगको उपाधि जितेका छन्।

सन् २००३ देखि बार्सिलोनामा आवद्ध रहेका मेस्सी १८ वर्षपछि सो क्लवबाट बाहिरिएका छन्।

मेस्सीले गत महिना अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि दिलाएका थिए।