October 24, 2021, Sunday
७ कार्तिक २०७८, आईतवार

कोपा अमेरिकाः अर्जेन्टिनाको शानदार जित

कोपा अमेरिका फुटबल अन्तर्गत नेपाली समय अनुसार मंगलबार बिहान भएको समूह चरणको आफ्नो अन्तिम खेलमा अर्जेन्टिनाले शानदार जित दर्ता गरेको छ ।

समूह ए अन्तर्गतको खेलमा लियोनल मेस्सी कप्तानीको अर्जेन्टिनाले बोलिभियालाई ४–१ ले पराजित गरेको हो ।

अर्जेन्टिनाको राष्ट्रिय टिमबाट सबैभन्दा धेरै १४८ खेल खेल्ने कीर्तिमान बनाएका मेस्सीले यो खेलमा दुई गोल गरे ।

अर्जेन्टिनाका लागि छैटौँ मिनेटमा अलेहान्ड्रो डारिओ गोमेज, ३३ औँ (पेनाल्टी) तथा ४२ औँ मिनेटमा मेस्सी तथा ६५ औँ मिनेटमा लौतारो मार्तिनेजले गोल गरेका हुन् । बोलिभियाका लागि ६० औँ मिनेटमा एर्विन साभेड्राले एक गोल फर्काए ।

यसैबिच मंगलबार बिहानै भएको अर्को खेलमा उरुग्वेले पाराग्वेलाई १–० ले पराजित गरेको छ । २१ औँ मिनेटमा पाएको पेनाल्टीमा एडिन्सन काभानीले गरेको गोल नै उरुग्वेको जितका लागि निर्णायक बन्यो ।

समूह ए बाट बोलिभिया बाहिरिएको छ । अर्जेन्टिना १० अंकसहित समूह विजेता तथा सात अंकसहित उरुग्वे उपविजेता बनेको छ । क्वाटर फाइनलमा पुगेको पाराग्वेको ६ तथा चिलेको पाँच अंक छ ।

क्वाटरफाइनलमा पेरुले पाराग्वे, ब्राजिलले चिले, उरुग्वेले कोलम्बिया तथा अर्जेन्टिनाले इक्वेडरसँग प्रतिस्पर्धा गर्ने छन् ।