January 23, 2025, Thursday
२०८१ माघ १०

युरोकपमा डेनमार्कको महत्वपूर्ण जित, अन्तिम १६ को यात्रा

युरोकप फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा डेनमार्कले महत्वपूर्ण जित निकालेको छ । समूह चरणको अन्तिम खेलमा रुसलाई ४–१ ले पराजित गर्दै डेनमार्कले अन्तिम १६ मा स्थान पक्का गरेको हो ।

यसअघिका दुई खेलमा पराजित भए पनि रुसमाथि फराकिलो अन्तरको जित निकालेका कारण डेनमार्क समूहको दोस्रो स्थानमा रहेर अन्तिम १६ मा पुग्न सफल भएको हो । नकआउट चरणमा डेनमार्कले वेल्ससँग प्रतिस्पर्धा गर्नेृ छ ।

Advertisement

सोमबार राति भएको खेलमा डेनमार्कका लागि ३८ औँ मिनेटमा मिकेल डेम्सगार्ड, ५९ औँ मिनेटमा युसुफ पोउल्सन, ७९ औँ मिनेटमा आन्ड्रेस क्रिष्टियन्सन र ८२ औँ मिनेटमा योआकिमले गोल गरेका हुन् । रुसका लागि ७० औँ मिनेटमा पाएको पेनाल्टीमा अर्तेम ड्ज्युबाले एक गोल फर्काए ।

युरोकप अन्तर्गत फिनल्याण्डसँगको पहिलो खेलको पहिलो हाफको अन्तिमतिर क्रिष्टियन एरिक्सनलाई कार्डिक अरेस्ट भएपछि डेनमार्कको समस्यामा आएको थियो । फिनल्याण्डसँग पराजित भएको डेनमार्क दोस्रो खेलमा पनि बेल्जियमसँग पराजित भयो ।

उपचारपछि घर फर्किएका एरिक्सनले हेरेको सोमबार रातिको खेलमा डेनमार्क विजयी भयो । सोही रंगशालामा ९ दिन पहिले एरिक्सन लडेका थिए ।

डेनमार्क समूहको उपविजेता बनेपछि फिनल्याण्डलाई भने अन्तिम १६ मा प्रवेश गर्नका लागि समूह चरणका खेल सकिँदासम्म पर्खिनु पर्ने भएको छ । सोमबार राति भएको खेलमा फिनल्याण्ड विश्व नम्बर एक टिम बेल्जियमसँग २–० ले पराजित भयो ।

लगातार तेस्रो खेल जित्ने क्रममा बेल्जियमका लागि ८१ औँ मिनेटमा रामेलु लुकाकुले गोल गरे । त्यसअघि फिनल्याण्डका ह्राडेकीले आत्मघाती गोल गरेका थिए ७४ औँ मिनेटमा ।