April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

युरोकपः नकआउट चरणमा पुग्ने इटाली पहिलो टिम

इटाली युरोकप फुटबलको नकआउट चरणमा पुग्न सफल भएको छ । समूह ए अन्तर्गत बुधबार राति भएको खेलमा स्वीट्जरल्याण्डमाथि ३–० को जित निकालेको इटाली नकआउट चरणमा पुग्ने जारी प्रतिस्पर्धामा पहिलो टिम बनेको हो ।

Advertisement

इटालीको जितमा मानुएल लोकातेलीले दुई तथा चिरो इम्मोबिलेले एक गोल गरेका हुन् ।

Advertisement

लोकातेलीले २६ र ५२ तथा इम्मोबिलेले ८९ औँ मिनेटमा गोल गरेर इटालीलाई महत्वपूर्ण जित दिलाएका हुन् । स्वीट्जरल्याण्डले गोल गर्ने मौका खासै सिर्जना गर्न सकेन ।

लगातार दुई खेलमा जित निकालेको इटालीको ६ अंक भएको छ र उसले नकआउट चरणका लागि स्थान पक्का गरेको छ ।

समूह ए अन्तर्गत बुधबार राति नै भएको खेलमा वेल्सले महत्वपूर्ण जित दर्ता गरेको छ । उसले टर्कीमाथि २–० को जित दर्ता गरेको हो । वेल्सको जितमा आरोन रामसी र कनर रोबर्ट्सले एक–एक गोल गरे ।

४२ औँ मिनेटमा ग्यारेथ बेलको सहयोगमा रामसीले गोल गरेका हुन् । रोबर्ट्सले इन्जुरी समयको पाँचौँ अर्थात ९५ औँ मिनेटमा गोल गरेका हुन् ।

एक खेलमा बराबरी र एकमा जित दर्ता गरेको वेल्स चार अंकसहित दोस्रो स्थानमा छ । टर्की अंक बिहीन छ भने स्वीट्जरल्याण्डको एक अंक छ ।