November 7, 2026, Saturday
२०८३ कार्तिक २१ शनिबार

लक्ष्मी पूजाका दिन भैरहवामा युनिक दीपावली फेष्टिवल

Advertisement

भैरहवा–बिगतका बर्षमा जस्तै यस वर्षपनि लक्ष्मी पूजाका दिन कात्तिक २२ गते भैरहवामा ११ औं युनिक दीपावली फेष्टिवल सञ्चालन हुने भएको छ ।

Advertisement

विगत १९ वर्ष देखि भैरहवामा साउण्ड र म्युजिक व्यवसाय सञ्चालन गरिरहेको युनिक साउण्डले दिपावली फेस्टीबल आयोजना गर्न लागेको हो । युनिक साउण्डले बुधबार पत्रकार सम्मेलन आयोजना गरेर कार्यक्रमबारे जानकारी गराएको हो ।

हिन्दुहरुको महान पर्व तिहारमो अवसरमा आपसी स‌द्भाव, नगरवासीलाई उल्लासमय र आर्थिक चलायमान गराउदै तिहारको अनुभूति गराउन संस्कृतिको सम्मान गर्दै स्थानीय कलाकारको प्रवर्द्धन गर्न कार्यक्रम आयोजना गरिएको युनिक साउण्डका सञ्चालक रहिश खानले बताए । खानले यसअघि एकल लगानीमा १० वटा फेस्टिवल सफलता पूर्वक आयोजना गरिसकेका छन् । यसपटकको कार्यक्रम ५० हजार दर्शकले अवलोकन गर्ने र १५ लखा रुपैयाँ खर्च लाग्ने खानले बताए ।

कार्यक्रम सञ्चालनका लागि सिद्धार्थनगर नगरपालिका, जिल्ला प्रशासन कार्यालयसँग अनुमति लिइएको जनाइएको छ । ‘सडकको एक साइडमा स्टेज रहने, सडक पनि सजावट गरी झिलिमीली गरेका छौं, खानले भने, ‘कार्यक्रममा नृत्य, गायन लगायतका सास्कृतिक कार्यक्रमहरु गरिने छ। यो कार्यक्रम सम्पूर्ण संस्कृतिलाई सम्मान गर्नुपर्छ र आपसी सदभावको निम्ति स्थानीय कलाकार र प्रतिभा देखाउने अवसरको रुपमा पनि लिनु रहेको छ।’

विगतमा जस्तै यस वर्ष पनि चर्चित राष्ट्रिय कलाकार राखेको र सरप्राइजको रुपमा रहेका कलाकार विगत जस्तै सिधै स्टेजबाट सार्वजनिक गरिने उनले जनाए ।

दिपावली कार्यक्रमका लागि समन्वय र सहयोग उपलब्ध गराइरहेको चेम्बर अफ कमर्श रुपन्देहीका अध्यक्ष सचीन रोक्काले बताए । ‘चेम्बर अफ कमर्शले आर्थिक रुपमा योगदान गर्नु परेको छैन, उनले भने, ‘प्राय तिहार जस्तो पर्वमा भैरहवा सुनसान हुने देखिएपछि यो कार्यक्रम यस वर्ष पनि निरन्तरता दिइए‌को हो।’

कार्यक्रम अवलोकनका लागि भैरहवा मात्र नभई छिमेकी जिल्ला र भारतबाट पनि दर्शकहरु आउने आयोजकले बताए । कार्यक्रमबाट सिद्धार्थनगरलाई पर्यटकीय क्षेत्रको परिचय दिनका लागि सफा, हरभरा, सौन्दर्याकरण गर्दै विकसित शहरको रुपमा विकास सन्देश दिनु पनि कार्यक्रमको उद्देश्य रहेको छ।