रोटरी क्लवको भोेलीदेखि मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर



भैरहवा–स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका ग्रामीण तथा आर्थिक रूपमा कमजोर समुदायलाई लक्षित गर्दै रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले यस वर्ष पनि रुपन्देहीको मर्चवार क्षेत्रमा बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।
क्लबले विगतका वर्षदेखि सञ्चालन गर्दै आएको स्वास्थ्य सेवा अभियानलाई निरन्तरता दिँदै कोटहीमाई गाउँपालिका–५, मझगवास्थित आदर्श बहुमुखी क्याम्पसमा बुधवारदेखि तीनदिने स्वास्थ्य शिविर आयोजना गर्न लागेको हो । शिविरमा मर्चवार क्षेत्रका कोटहीमाई, सम्मरीमाई र मर्चवारी गाउँपालिकाका करिब दुई हजार सर्वसाधारणलाई लक्षित गरिएको छ ।
विगतका वर्षमा मुख्यतः आँखाको उपचारमा केन्द्रित हुँदै आएको शिविरलाई यस वर्ष थप विस्तारित गरी आँखा उपचारसँगै क्यान्सर रोगको पहिचान, महिला स्वास्थ्य, नाक, कान तथा घाँटीसम्बन्धी समस्या र अन्य विभिन्न रोगको परीक्षण तथा उपचारमा केन्द्रित गरिएको रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीका अध्यक्ष गंगाधर भण्डारीले मंगलवार आयोजित पत्रकार सम्मेलनमा बताए ।
उनका अनुसार, शिविरमा आँखाको परीक्षण, मोतियाबिन्दुको पहिचान तथा आवश्यकताअनुसार निःशुल्क शल्यक्रिया, नाक, कान तथा घाँटीको परीक्षण, जनरल फिजिसियनबाट स्वास्थ्य परीक्षण तथा परामर्श, महिला स्वास्थ्य परीक्षण र उपचारलगायतका सेवा उपलब्ध गराइनेछ । त्यसैगरी महिलामा देखिने पाठेघर तथा स्तन क्यान्सरको पहिचानका लागि परीक्षण, पाठेघरसम्बन्धी समस्याको उपचार तथा आवश्यकताअनुसार निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाइएको उनले जनाए ।
शिविरमा उपचार सम्भव नभई थप विशेषज्ञ सेवा आवश्यक पर्ने महिलाका लागि बुटवलस्थित आम्दा अस्पतालमा थप उपचारको व्यवस्था मिलाइने क्लबका कृष्णप्रसाद पाण्डेले बताए । उनका अनुसार मर्चवार क्षेत्रमा महिलामा विभिन्न प्रकारका स्वास्थ्य समस्या देखिएकाले यस वर्ष महिला स्वास्थ्यलाई विशेष प्राथमिकता दिइएको हो ।
महिलालाई चार सय थान पुनः प्रयोग गर्न मिल्ने स्यानिटरी प्याड वितरण गर्नुका साथै अशक्त तथा अपाङ्गता भएका व्यक्तिलाई ह्विलचेयर वितरण गर्ने कार्यक्रमसमेत रहेको छ ।
काठमाडौं, बुटवल, चितवन र भैरहवालगायतका स्थानबाट विभिन्न विधाका करिब ६० जना विशेषज्ञ चिकित्सक सहभागी हुनेछन् । उनीहरूले बिरामीको स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यकताअनुसार उपचार सेवा प्रदान गर्नेछन् ।
रोटरी क्लब अफ पोखरा फिस्टेल र रोटरी ई–क्लब अफ मेडिको फ्युजनले उक्त शिवीरमा सहकार्य गरेका छन् । क्यानडाको पिटरबरो रोटरी क्लब, आईसीओ फाउन्डेसन क्यानडा, पार्टनर्स इन पोजिबिलिटी फाउन्डेसन, स्नो लेपर्ड इन्टरनेसनल मेडिसिन र ग्लासवाटर फाउन्डेसनलगायतका अन्तर्राष्ट्रिय सामाजिक संस्थाहरूले सहयोग तथा समन्वय गरेका छन् ।
काठमाडौंस्थित मातृका आँखा उपचार केन्द्र, बुटवलको एएमडीए अस्पताल, भरतपुर क्यान्सर अस्पताल तथा भैरहवाको लुम्बिनी नेत्रालय प्रालिलगायतका स्वास्थ्य संस्थाले प्राविधिक सहयोग गर्नेछन् ।
आयोजकका अनुसार शिविर सञ्चालनका लागि करिब १ करोडदेखि सवा करोड रुपैयाँसम्म खर्च हुने अनुमान गरिएको छ । रुपन्देहीमा रोटरी क्लबको इतिहासमै पहिलोपटक यति ठूलो स्तरमा विभिन्न विधाका विशेषज्ञ चिकित्सकको सहभागितामा बृहत् स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको हो ।
क्लबका निवर्तमान अध्यक्ष विष्णु शर्मा आचार्यले ग्रामीण तथा आर्थिक रूपमा कमजोर समुदायका नागरिकलाई उनीहरूकै घरआँगनमा गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउनु अभियानको मुख्य उद्देश्य रहेको बताए ।








प्रतिकृया दिनुहोस्