October 14, 2026, Wednesday
२०८३ आश्विन २९ बिहीबार

अभिभावक भेट्टाउँदा रुन थाले बालवालिका, भावव्हिल बने अभिभावक

Advertisement

भैरहवा–भारतका विभिन्न स्थानबाट उद्धार गरी नेपाल ल्याइएका १५ जना नेपाली बालबालिकामध्ये १० जनालाई बुधबार भैरहवामा अभिभावकको जिम्मा लगाइएको छ ।

Advertisement

भारतस्थित नेपाली राजदुतावास र भारतीय पुलिससँगको सहकार्यमा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध भारतको दिल्लीमा कार्यरत संस्था ‘किन इन्डिया’को पहलमा भारतका विभिन्न स्थानबाट जोखिमपूर्ण अवस्थामा रहेका १५ जना नेपाली बालबालिकाको उद्धार गरिएको हो । उनीहरूलाई पारिवारिक पुनस्र्थापनाका लागि बुधबार बिहान नेपाल ल्याइएको थियो ।

उद्धार गरिएका बालबालिकामा १० जना बालक र पाँच जना बालिका छन् । ‘किन इन्डिया’का निर्देशक नवीन जोशीले मदरसामा पढाउन लैजाने, पारिवारिक विग्रह, घरेलु झैझगडा तथा पारिवारिक यौन हिंसालगायत कारणले ती बालबालिकालाई अवैध रूपमा भारत पु¥याइएको बताए । ‘जोखिमपूर्ण अवस्थामा भेटिएपछि उनीहरूको उद्धार गरिएको हो’ जोशीले भने, ‘केही बालिका दिल्लीको रेलवे स्टेशनमा अलपत्र अवस्थामा फेला परेका हुन् ।’

घरमा हुने झैझगडा, पारिवारिक विग्रह तथा घरेलु हिंसाका कारण उद्धार गरी नेपाल ल्याइएका केही बालबालिका भने अभिभावकको घर फर्कन इच्छुक देखिदैनन् । त्यस्ता बालबालिकाको सुरक्षा र आवश्यकताअनुसार वैकल्पिक व्यवस्थापन गर्ने तयारी गरिएको छ ।

लामो समयदेखि परिवारबाट बिछोडिएका बालबालिका आफ्ना अभिभावकलाई प्रत्यक्ष भेटेपछि भावुक हुँदै खुशीका आँसु झारेका थिए । अभिभावक पनि छोराछोरीलाई भेट्दा निकै भावविह्वल बनेका थिए ।
बुधबार अभिभावकको जिम्मा लगाइएका बालबालिकामध्ये महोत्तरीको सम्सी गाउँपालिकाका छ जना बालक छन् । मदरसामा पढाउने भन्दै महाराष्ट्रको जलान जिल्लामा पुर्याइएका ती बालकलाई त्यहास्थित एक मदरसामा जोखिमपूर्ण अवस्थामा रहेको जानकारी पाएपछि महाराष्ट्र पुलिसको समन्वयमा छापा हानेर उद्धार गरिएको थियो ।

पश्चिम नवलपरासीको प्रतापपुर, रौतहट, झापा र पर्साका एक–एक जना बालिकालाईपनि अभिभावकको जिम्मा लगाइएको छ । भारतबाट उद्धार गरी नेपाल ल्याइएका अन्य बालबालिकामा पाल्पाका दुई जना बालक, अछाम र कञ्चनपुरका एक–एक जना बालक तथा सिराहाकी एक बालिका छन् । भारतस्थित नेपाली राजदूतावास र भारतीय प्रहरीसँगको समन्वयमा महाराष्ट्र, दिल्ली, झारखण्ड र बिहारबाट उनीहरूको उद्धार गरिएको हो ।

उद्धारपछि स्वदेश फिर्ती, मानसिक परामर्श, आवास सुविधा, अभिभावकको खोजी तथा पारिवारिक पुनस्र्थापनाका लागि ‘किन इन्डिया’सँग शुभअवसर ग्राम नेपाल र गुड सेफर्ड इन्टरनेशनल फाउण्डेशन नेपालले सहकार्य गर्दै आएका छन् ।

गुड सेफर्ड इन्टरनेशनल फाउण्डेशन नेपालका कार्यक्रम व्यवस्थापक बिकास ढुंगानाले भारतमा उद्धार गरिएका बालबालिका तथा महिलालाई स्वदेश फर्काउन सहजीकरण गर्दै सुरक्षित र दीगो पारिवारिक पुनर्मिलनका लागि ‘किन इन्डिया’सँग साझेदार संस्थाका रूपमा सहकार्य गरिरहेको बताए । ‘पारिवारिक पुनर्मिलन हुन बाँकी बालबालिकाका सम्बन्धित अभिभावकको खोजी गरी पुनर्मिलन गराइनेछ’ ढुंगानाले भने, ‘घरेलु हिंसामा परेर घर फर्कन नचाहने बालबालिकाको पनि आवश्यकताअनुसार उचित व्यवस्थापन गरिनेछ ।’

उनीहरूलाई बुधबार जिल्ला प्रहरी कार्यालय रुपन्देही परिसरमा नेपाल प्रहरी सहित नेपाल सरकारका प्रतिनिधि तथा आफन्तको उपस्थितिमा हस्तान्तरण गरि पारिवारिक पुनर्मिलन गराइएको हो ।