बाढी प्रभावितका लागि रेडक्रश रुपन्देहीमा रगतसहित राहत सामग्री तयारी अवस्थामा


भैरहवा–भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारको सहयोगका लागि नेपाल रेडक्रश सोसाइटी रुपन्देही शाखाले रगतसहित विभिन्न राहत तथा उद्धार सामग्री तयारी अवस्थामा राखेको छ ।
बाढी प्रभावितको उपचार तथा मानवीय सहायताका लागि आवश्यक पर्न सक्ने रगत उपलब्ध गराउने उद्देश्यले रेडक्रश रुपन्देहीले विभिन्न संघसंस्था तथा कर्पोरेट प्रतिष्ठानसँगको सहकार्यमा रक्तदान अभियान सञ्चालन गरी रगत संकलनलाई तीव्रता दिएको हो ।
नेपाल रेडक्रश सोसाइटी रुपन्देही शाखाका दैवी प्रकोप फोकल पर्सन महेन्द्रकुमार श्रेष्ठले बाढी प्रभावितलाई लक्षित गरी सञ्चालन गरिएको रक्तदान अभियानबाट हालसम्म ७ सय युनिटभन्दा बढी रगत संकलन भइसकेको जानकारी दिए । संकलित रगत रेडक्रशका भैरहवा र बुटवलस्थित रक्तसञ्चार केन्द्रमा सुरक्षित राखिएको छ ।
रक्तदान आयोजना गर्न विभिन्न संघसंस्था तथा कर्पोरेट प्रतिष्ठानलाई अभिप्रेरित गर्दै आएको उनले जनाए । ‘आवश्यकताअनुसार रक्तदान कार्यक्रम सञ्चालन गर्न प्राविधिक टोलीसमेत उपलब्ध गराउने गरिएको छ,’ श्रेष्ठले भने, ‘संकलित रगत भोटेकोशी बाढी प्रभावितका लागि मात्रै नभई अन्य मानवीय सहायताका लागि समेत आवश्यकताअनुसार उपलब्ध गराइनेछ ।’
उनका अनुसार भोटेकोशी बाढीबाट घाइते भएकाको उपचारका लागि हालसम्म रेडक्रशको केन्द्रीय कार्यालयबाट रुपन्देहीमा रगतको माग आएको छैन । यद्यपि रुपन्देहीमा दैनिक औसत १ सय २५ युनिट रगत आवश्यक पर्ने गरेको छ । त्यसमध्ये बुटवल तथा आसपासका क्षेत्रमा करिब १ सय युनिट र भैरहवा क्षेत्रमा करिब २५ युनिट रगतको दैनिक माग हुने गरेको श्रेष्ठले बताए ।
रक्तसहित नेपाल रेडक्रश सोसाइटी रुपन्देही शाखाले बाढी प्रभावित परिवारका लागि आवश्यक पर्ने राहत तथा उद्धार सामग्रीसमेत तयारी अवस्थामा राखेको छ । शाखाले त्रिपाल, कम्बल, बिछ्याउने म्याट्रेस, भाँडावर्तनलगायतका सामग्री भण्डारण गरी माग हुनासाथ प्रभावित क्षेत्रमा पठाउने तयारी गरेको जनाएको छ ।
नेपाल रेडक्रश सोसाइटी रुपन्देही शाखाका अध्यक्ष रामचन्द्र रेग्मीले बाढी प्रभावित परिवारबाट सामग्रीको माग आएमा तत्काल उपलब्ध गराइने बताए । पश्चिम नवलपरासीको नारायणी नदी किनारमा फेला परेका शवको व्यवस्थापनका लागि रेडक्रश रुपन्देहीले आवश्यक डेथबडी ब्याग उपलब्ध गराउने काम भइरहेको छ ।








प्रतिकृया दिनुहोस्