विश्वशान्तिको सन्देश फैलाउँदै लुम्बिनीमा सातदिने विशेष पूजा



लुम्बिनी–विश्वमा शान्तिको कामनासहित लुम्बिनीमा सातदिने विशेष बौद्ध पूजा सुरु भएको छ ।
महायानी बौद्ध परम्पराअनुसार पश्चिम विहार क्षेत्रमा अवस्थित पाल थुब्तेन सेडुप लिङ विहार (नौ हजार स्वर्ण बुद्ध मन्दिर) मा आइतबारदेखि पूजा आरम्भ गरिएको हो । कार्तिक २१ गतेसम्म सञ्चालन हुने पूजामा विभिन्न १२ देशका १५० विदेशी नागरिकसहित करिब ५५० जनाको सहभागिता रहेको आयोजकले जनाएको छ ।
पूजाका क्रममा महायानी बौद्ध धर्मको कानिङ सम्प्रदायका मूलगुरु छोक्यी न्यीमा रिन्पोछेले सहस्र बुद्धको अभिषेक तथा धर्मदेशना गरिरहेका छन् । विश्वशान्ति र समस्त जीवको रक्षा तथा हितको सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
तिब्बती बौद्ध धर्मावलम्बीको महत्वपूर्ण धार्मिक पर्व ’ल्हाबाब दुछेन’ को अवसरमा आयोजना गरिएको यस पूजाको विशेष धार्मिक महत्व रहेको छ । बौद्ध धर्मअनुसार भगवान् गौतम बुद्धले देवताहरूको लोकमा आफ्नी आमासहित देवगणलाई धर्मोपदेश दिएर पुनः पृथ्वीमा अवतरण गर्नुभएको घटनाको सम्झनामा यो पर्व मनाउने गरिन्छ ।
तिब्बती पात्रोको नवौँ महिनाको २२औँ दिन मनाइने ल्हाबाब दुछेनलाई बौद्ध धर्मका चार प्रमुख पवित्र पर्वमध्ये एकका रूपमा लिइन्छ। यही अवसरमा पाल थुब्तेन सेडुप लिङ विहारको उद्घाटन भएको दोस्रो वार्षिकोत्सवसमेत मनाइँदैछ ।
सात दिनसम्म चल्ने धार्मिक अनुष्ठानले लुम्बिनीको अन्तर्राष्ट्रिय बौद्ध धार्मिक तथा आध्यात्मिक पहिचानलाई थप उजागर गर्ने अपेक्षा गरिएको छ ।








प्रतिकृया दिनुहोस्