October 14, 2026, Wednesday
२०८३ आश्विन २९ बिहीबार

ओलीको प्रशंसा गरेर ज्ञवालीले तयार पारे अर्को प्रतिवेदन

Advertisement

भैरहवा– कार्यदलमै नरहेका नेकपा एमालेका केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले पार्टी अध्यक्ष केपी ओलीको प्रशंसा नै प्रशंसा सहितको अर्को प्रतिवेदन तयार पारेका छन्।

Advertisement

‘निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल’को सदस्य नै नरहेका ज्ञवालीले ओलीले विगतमा धेरै राम्रो काम गरेको र अहिले नेतृत्व परिवर्तनको विषय असान्दर्भिक रहेको निष्कर्षसहितको प्रतिवेदन तयार पारेका हुन्। जबकी कार्यदलकै प्रतिवेदनमा भने अहिलेको नेतृत्व परिवर्तन गर्नुपर्ने निष्कर्ष थियो।

ज्ञवालीले ल्याएको प्रतिवेदनमा ओलीको नेतृत्वमा नेपालको कम्युनिस्ट आन्दोलनले हासिल गरेको सफलता र उत्कर्ष तथा निर्वाचनमा भएको इतिहासकै कमजोर पराजयसम्मका समग्रपक्षको वस्तुनिष्ठ समीक्षा गर्नुपर्ने समेत भनेका छन्।

ज्ञवालीले ओलीकै नेतृत्वमा एकपटक असफल भएको संविधानसभाको दोस्रो निर्वाचन गरेर संविधान निर्माण गर्ने कुरामा सफलता हासिल भएको हो भन्ने समेत उल्लेख गरेका छन्।

‘उहाँकै नेतृत्वमा संविधान जारी गर्ने कुरामा रोक लगाउन खोज्ने बाह्य हस्तक्षेप र संविधान जारी भएपछि लगाइएको अघोषित नाकाबन्दीको डटेर सामना गर्दै त्यसलाई असफल बनाउने काम भएको हो,’प्रतिवेदनमा भनिएको छ, ‘उहाँकै नेतृत्वमा उत्तरी छिमेकी चीनसँग व्यापार पारवहन सम्झौता गरेर नेपाललाई भूपरिवेष्ठित राष्ट्रबाट भूजडित राष्ट्र बनाउने कुरामा सफलता प्राप्त भएको हो। भूकम्पपछिको पुनर्निर्माण, कोभिड महामारीको सामना, पूर्वाधार विकास र सामाजिक न्याय र सुरक्षाको विस्तारमा समेत महत्वपूर्ण सफलता हासिल भएको हो।’

ज्ञवालीले भदौ २३ र २४ पछि उत्पन्न भएको परिस्थितिलाई सामना गर्नका लागि नै पार्टीले समयअगावै महाधिवेशन गरेको भन्दै नेतृत्व परिवर्तनको माग गर्न नमिल्नेतर्फ संकेत गरेका छन्। यसअघि उपाध्यक्ष रामबहादुर थापाको नेतृत्वको कार्यदलमा महासचिव पाखरेलले तयार पारेको प्रतिवेदनमा अध्यक्ष ओलीको विकल्प खोजिएको छ । उक्त प्रतिवेदनमा चित्त नबुझाएका ओलीले उपाध्यक्ष थापालाई अर्को प्रतिवेदन बनाउन भनेका थिए । तर, त्यसमा पनि चित्त नबुझाएर ओलीले ज्ञवालीलाई आफू अनुकुल प्रतिवेदन तयार गर्न लागेका हुन् ।