October 14, 2026, Wednesday
२०८३ आश्विन २९ बिहीबार

महासचिव पोखरेल भन्छन्– क्षतिपूर्तिको लडाइँमा नेपाललाई विश्व समुदायले साथ दिनुपर्छ

Advertisement

भैरहवा– नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले भोटेकोशी बाढीको समस्या उत्पन्न गर्नेहरूले नेपाललाई क्षतिपूर्ति तिर्नुपर्ने बताएका छन् । एमाले विशेष सङ्गठन कमिटीले आज केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको रक्तदान कार्यक्रममा बोल्दै महासचिव पोखरेलले औद्योगिक राष्ट्रहरूले सृजना गरेको समस्याका कारण अनाहकमा हजारौँ नेपालीले अनाहकमा ज्यान गुमाउनु परेको दुस्खान्तको न्यायपूर्ण निरूपण हुनुपर्ने उनले माग गरेका छन् ।

Advertisement

‘विकसित देशहरूले ठुला ठुला उद्योग र आणविक भट्टीबाट अति कार्बन उत्सर्जन गरे त्यसको मार हामीजस्ता विकासशील देशहरूले भोग्नुपरेको छ,’ पोखरेलले भने, ‘हामीकहाँ भएको जनधनको क्षतिपूर्तिको उनीहरूले तिर्नुपर्दछ । यो न्यायको अभियानमा विश्व समुदायले नेपाललाई साथ दिनुपर्दछ । ’

महासचिव पोखरेलले एमाले पीडितको राहत, उद्धार र पुनर्स्थापनका लागि अहोरात्र खटिरहेको बताए । पार्टी अध्यक्ष केपी शर्मा ओली र आफू सहितको टोली बाढी प्रभावित क्षेत्रमा पुगेर स्थलगत अवस्था बुझेपछि यो क्रमलाई अझ तीव्र पारिएको उनले बताए ।

‘हाम्रा पार्टीका नेता तथा जनसङ्गठनहरू बाढी लगत्तै उद्धार तथा राहतमा अहोरात्र खटेका छन्’, पोखरेलले भने, ‘राहत सामग्री पीडितलाई पुर्याउने काम पनि हामीले गरिरहेका छौँ ।’

पोखरेलले एमाले सरकारले अघि सार्ने पुनर्स्थापना तथा पुनर्निर्माणको काममा सहयोगी हुने बताएका छन् । ‘एमालेमा विगतका विपत्तिमा पनि उद्धार,राहत, पुनर्स्थापना र पुनर्निर्माणमा उल्लेखनीय सफलता हासिल गरेका नेता कार्यकर्ताहरू हुनुहुन्छ’, पोखरेलले भने, ‘त्यो अनुभव हामी रसुवा र नुवाकोटको बाढी पीडित क्षेत्रमा प्रयोग गर्छौ । सरकारले अघि सार्ने यस्ता काममा हाम्रो साथ रहन्छ ।’