June 18, 2026, Thursday
२०८३ असार ४ बिहीबार

अन्तर्राष्ट्रिय बालदिवसको अवसरमा विद्यालयस्तरीय खुल्ला दौड प्रतियोगिता

Advertisement

भैरहवा- अन्तर्राष्ट्रिय बालदिवसको अवसरमा नेपाल बाल कल्याण संस्था, रुपन्देहीले बिहीवार भैरहवामा नगरस्तरीय विद्यालय खुल्ला दौड प्रतियोगिता सम्पन्न गरेको छ । बालबालिका शिक्षित हुन स्वस्थ्य रहन जरुरी रहेको र शिक्षाका लागि स्वास्थ्य भन्ने मूल नाराका साथ उक्त दौड प्रतियोगिताको आयोजना गरिएको कार्यक्रम संयोजक दीपक श्रेष्ठले बताए ।

Advertisement

भैरहवाको बुद्धचोकस्थित लुम्बिनी गेटबाट सुरु भएको उक्त दौड प्रतियोगितामा सहभागी विद्यार्थीले बुद्धचोक, नयाँ सडक, देवकोटा चोक, शान्तिनगर, जनतापथ हुँदै जनकपथस्थित नेपाल बाल कल्याण संस्थाको कार्यालय परिसरसम्मको करिव ३ किमि दुरी पार गरेका थिए ।

सिद्धार्थनगर नगर क्षेत्रका संस्थागत र सामूहिक विभिन्न विद्यालयका १६ वर्ष मुनिका छात्र र छात्रा गरि कुल २७ जना बिद्यार्थी सहभागी थिए । प्रतियोगितामा छात्रतर्फ पक्लिहवा माविका ऋषि हरिजन प्रथम, मुनलाइट सेकेण्डरी स्कूलका देवनारायण मुराव दोस्रो, बृहष्पति माविका प्रेम गुप्ता तेस्रो भएका छन् । बहिरा बाल माविका नवीन बस्नेतले सान्त्वना पुरस्कार प्राप्त गरे ।

छात्रातर्फ युनिभर्सल पब्लिक स्कूलकी सगुन्ता छत्याल प्रथम, भानु माविकी सारा खान दोस्रो र मुनलाइट बोर्डिङ स्कुलकी स्मृति श्रेष्ठ तेस्रो भइन् । भैरहवा उच्च माविकी खुशी थारुले सान्त्वना पुरस्कार प्राप्त गरिन् । प्रथम, दोस्रो, तेस्रो र साँत्वना पुरस्कार पाउनेलाई नगद रुपैयाँ क्रमशः ४, ३, २ र १ हजार र प्रमाणपत्र प्रदान गरिएको थियो ।

यसअघि प्रतियोगिताको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका युवा तथा खेलकुदमन्त्री सन्तोष कुमार पाण्डेयले प्रदेशको आर्थिक समृद्धि खेलकुद र पर्यटनको माध्यमबाट सम्भव रहेको बताए ।

आयोजक संस्थाका अध्यक्ष बरिष्ठ अधिबक्ता धर्मबहादुर खड्काले संस्था बालबालिकाको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको बताए । विभिन्न खालका जोखिममा परेका, शिक्षा, स्वास्थ्यबाट बञ्चित र अनाथ बालबालिकाको क्षेत्रमा संस्थाले काम गर्दै आएकाले यस खालका बालबालिका कतै फेला परेमा सहयोगका लागि तयार रहेको जनाए ।