June 6, 2026, Saturday
२०८३ जेष्ठ २४ आईतवार

उच्च अदालत बुटवलमा रवि र छविको मुद्दाको सुनुवाइ स्थगित

Advertisement

भैरहवा– रास्वपा सभापति रवि लामिछाने र पूर्वडीआईजी एवं गोर्खा मिडियाका पूर्व संचालक छविलाल जोशीले उच्च अदालत बुटवल इजलासमा दिएको रिट निवेदनमाथिको मुद्दाको बिहीबारको सुनुवाइ स्थगित भएको छ । बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा उनीहरु थुनामा छन् ।

Advertisement

रविले बिगोबमोजिमको रकम बुझाइ थुनाबाहिर बसेर मुद्दा लड्न पाउन माग गर्दै उच्चमा निवेदन दिएका थिए । हाल लामिछाने ललितपुरको नख्खु कारागारमा छन् भने जोशी भैरहवा कारागारमा थुनामा छन् ।

आज रविको मुद्दाको पेसी पाटन उच्च अदालतमा पनि परेकाले रविका कानून व्यवसायीका तर्फबाट बुटवल इजलासको सुनुवाइ स्थगित गरिदिन निवेदन परेपछि स्थगित भएको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले बताए । यसअघि कात्तिक २७ गते भएको सुनुवाइमा न्यायाधीशहरू वासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासले सर्वोच्च अदालतमा रहेको मूल अभियोग मिसिल मगाउने आदेश दिएको थियो। मूल मुद्दाको सक्कल मिसिल प्राप्त भएपछि आज बिहीबारका लागि पेसी तोकिएको थियो ।

यसअघि कात्तिक २० गतेको सुनुवाईमा पनि न्यायाधीशद्वय आचार्य र अर्यालको इजलासले सुरु मिसिल मगाउने आदेश दिएको थियो । सर्वोच्चबाट सुरु मिसिलको फाइल प्राप्त नभए पनि जिल्ला अदालतबाट प्रतिलिपि आएपछि बिहीबार पेसी चढाइएको हो। अदालतले लामिछानेको मुद्दालाई प्राथमिकतामा राखेर अघि बढाइरहेको सूचना अधिकारी कुँवरले जनाए ।

त्यसअघि न्यायाधीश मिलनकुमार राई र ओमप्रसाद अर्यालको इजलासले दुवै प्रतिवादीको मुद्दा एउटै प्रकृतिको भएकाले एकैसाथ राख्न आदेश गरेको थियो । बिगोबमोजिमको रकम बुझाई थुनाबाहिर बसेर मुद्दा लड्न पाउने माग गर्दै लामिछानेले निवेदन दिएकामा उच्च अदालतले रविसँगै जोशीको फाइल पनि पेस गर्न आदेश दिएको थियो । त्यसअघि उच्च अदालत, बुटवलले लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएको थियो ।

सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा भएको अपचलनबापत आफ्नो भाग बराबर बिगो दाखिला गरिसक्दा पनि जिल्ला अदालत रुपन्देहीले रिहा नगरेपछि भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गरेका थिए । उनले यसअघि जिल्ला अदालतमा पनि बिगो दाखिला गरेर सहकारी ठगी मुद्दाबाट छुटकारा दिन माग गरेका थिए। तर, जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते उनकी निवेदन अस्वीकार गरेको थियो ।

सुप्रिम सहकारी ठगीमा रविसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरी अभियोग पत्र दायर गरिएको छ। लामिछानेले त्यसको चार भागमध्ये आफ्नो हिस्साको एक भाग बराबर २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बैंक जमानतका रूपमा पेस गरेका थिए ।

लामिछाने जस्तै जोशीले पनि त्यति नै रकमबापत जमानत पेस गरेका थिए। तर, दुवै प्रतिवादीको व्यक्तिगत बिगो कति पर्ने भन्ने यकिन नभएकाले रिहा गर्न नपाइने निर्णय दुवैका हकमा समान रूपमा जारी भएको थियो ।