June 18, 2026, Thursday
२०८३ असार ४ बिहीबार

उद्योगको प्रदुषणको बिषयमा राजनीतिक दल र व्यवसायी बिच बिवाद

Advertisement

भैरहवा–एउटा उद्योगले फैलाएको प्रदुषणको बिषयलाई लिएर पश्चिम नवलपरासीको परासीस्थित व्यवसायिक संघसंस्था र केही राजनीतिक दलका प्रतिनिधि बिच विवाद उत्पन्न भएको छ ।

Advertisement

रामग्राम नगरपालिका–१५ सुक्रौलीस्थित सिद्धिविनायक आयल्स प्रालीबाट उत्पन्न फोहर र प्रदुषणको बिषयलाई लिएर परासीस्थित उद्योग वाणिज्य संघ र केही राजनीतिक दलका स्थानिय प्रतिनिधि बिच बिवाद बढेको हो ।

विवादको कारण भने दुवै पक्षले एक अर्कांमाथि गालीगलौज र अभद्र व्यवहारको आरोप लगाएका छन् । एउटा पक्षले कारवाहीको माग गर्दै प्रहरीमा जाहेरी दिएको छ । भने, पक्षले जिल्ला प्रशासन कार्यालयमा पत्र बुझाउदै ध्यानाकर्षण गराएको छ ।

उद्योगले प्रदुषण फैलाएको प्रदुषणका वारेमा सहायक प्रमुख जिल्ला अधिकारी पोषन राज भण्डारी, जनता समाजबादी पार्टीका जिल्ला अध्यक्ष धरेन्द्र यादव, लोकतान्तिक समाजबादी पार्टीका जिल्ला अध्यक्ष मुकुरजी गिरी लगायतका राजनीतिक प्रतिनिधि, र सम्बन्धित वडाका जनप्रतिनिधि सहितको टोलीले केही दिन अघि उद्योग क्षेत्रको अनुगमन गरेको थियो ।

उद्योगबाट लंकहवा, जमुनिया, हकुई हुँदै पाल्हीनन्दनको सनईसम्मको बस्तीमा प्रदुषण फैलिएको र फोहोर पानी नजिकैको खोल्सा, कुलोमा मिसाउँदा मानिसमा छाला चिलाउने रोग, पशु चौपायामा खोरेतजस्तो छाला उक्किने जस्ता समस्या आइ पशु चौपाया समेत मर्ने गरेको गुनासो स्थानियको छ ।

अनुगमनका क्रममा उद्योग सञ्चालक रामगोपाल गोयन्काले आफूहरूलाई अभद्र व्यवहार गरेको भन्दै राजनीतिक दलका प्रतिनिधिहरूले जिल्ला प्रहरी कार्यालयमा ‘अभद्र व्यवहारसम्बन्धी कसुर’ मा मुद्दा चलाउन जाहेरी दिएका छन ।

उता, नवलपरासीउद्योग वाणिज्य संघले सम्बन्धित उद्योगीमाथि राजनीतिक दलका प्रतिनिधिहरूको व्यवहारप्रति प्रशासनको ध्यानाकर्षण गराएको छ । उवासंघका अध्यक्ष ओमप्रकाश अग्रहरी सहित पदाधिकारीहरूले प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साललाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

ध्यानाकर्षण पत्रमा अनुगमनका क्रममा उद्योग सञ्चालकलाई गरिएको गाली गलौज सहितको व्यवहार असहमति प्रकट गरेको छ । तर, ध्यानाकर्षण पत्रमा उद्योगले फैलाएको प्रदुषण नियन्त्रण गर्ने विषयमा भने केही केही कुरा उल्लेख गरिएको छैन ।

जिल्ला प्रहरी कार्यालयका एसपी अनुपम श्रेष्ठले उद्योग सञ्चालकसँग पनि कुरा बुझेपछि मात्र जाहेरी दर्ता हुने वा नहुने बारे निर्णय हुने बताए । स्थानियवासीन्दाले भने उद्योगको प्रदुषण नियन्त्रणका लागि पटक पटक जिल्ला प्रशासनमा जाँदा समेत सुनुवाइ नभएको भन्दै अब आन्दोलन गर्ने चेतावनी दिएका छन् ।