June 6, 2026, Saturday
२०८३ जेष्ठ २४ आईतवार

बेचबिखनमा परेका ४० जिल्लाका ३ सय ९५ जनाको उद्धार

Advertisement

बाँके– बेचबिखनमा परेका र सम्भावित जोखिममा रहेका ४० जिल्लाका करिब ४ सय जनाको मानव बेचबिखनविरुद्ध कार्यरत एक संस्थाले उद्धार गरेको छ । मानव बेचबिखनविरुद्ध सक्रिय संस्था शान्ति पुनःस्थापना गृह नेपालगन्जले गत आर्थिक वर्ष २०८१–८२ मा ४० जिल्लाका ३ सय ९५ जनाको उद्धार गरेको जनाएको हो । नेपालगञ्जमा आयोजित संस्थाको वार्षिक सामाजिक लेखा परीक्षण कार्यक्रममा उक्त जानकारी दिइएको हो ।

Advertisement

उक्त संस्थाले त्यहीँ अवधिमा ९ हजार ३ सय ७९ जनालाई सीमा क्षेत्रमा सूचना तथा परामर्श दिएको र चार जना भारतीय नागरिकको समेत उद्धार गरेको तथ्याङ्क प्रस्तुत गरेको थियो । संस्थाले लेखा परीक्षणमार्फत आफ्ना गतिविधिको कार्यसम्पादन, पारदर्शिता र जवाफदेहितामाथि छलफल गरेको हो । कार्यक्रममा गत वर्ष हासिल उपलब्धि, चुनौती र आगामी वर्षका योजनाबारे प्रस्तुतीकरण गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका अध्यक्ष ज्ञानेन्द्रकुमार चौधरीले मानव बेचबिखन नियन्त्रणमा संस्थाको प्रयास प्रशंसनीय रहेको बताए ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी र राष्ट्रिय मानव अधिकार आयोगका कार्यकारी प्रमुख द्वारिका अधिकारीले संस्थासँगको सहकार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा संस्थाका अध्यक्ष शान्ता सापकोटाले सरोकारवाला निकायको निरन्तर सहयोगले गर्दा नै जटिल परिस्थितिमा पनि उद्धार र पुनःस्ठापना सम्भव भएको बताइन् ।