June 7, 2026, Sunday
२०८३ जेष्ठ २४ आईतवार

माधवलाई झाँक्रीको कटाक्ष– आफ्नै ‘बेज्जती’ हुने कारबाही त नगरेको भए हुने कमरेड !

Advertisement

नेकपा एकीकृत समाजवादीबाट कारबाहीमा परेकी नेतृ रामकुमारी झाँक्रीले पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई लक्षित गर्दै सामाजिक सञ्जालमा कटाक्ष गरेकी छिन्।

Advertisement

आफूमाथि भएको कारबाहीको प्रयास वा असहमतिको सन्दर्भलाई जोड्दै उनले अध्यक्ष नेपालको लामो राजनीतिक जीवन र इतिहासको स्मरण गराएकी छिन्।

झाँक्रीले ‘प्रिय कमरेड माधव नेपाल, अभिवादन!’ भन्दै सुरु गरेको सन्देशमा अध्यक्ष नेपालको पार्टी प्रमुखको रूपमा बिताएको लामो समय (१९ वर्ष) र त्यसपछि पनि पार्टी प्रमुखलाई ‘चलाउने र नियन्त्रण गर्ने जिम्मेवारीमा बसेर काम’ गरेको इतिहासलाई कोट्याएकी छिन्।

नेतृ झाँक्रीले “आफ्नै बैज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड? केही अर्थ छ र अब पनि कारबाहीको?” भन्दै पार्टीको पछिल्लो कदममाथि प्रश्न उठाएकी छन्।

उनले यो ‘अन्तिम घटनाले’ अध्यक्ष नेपालको ईतिहासलाई फेरि बल्झाएको र बिर्सेकाहरूले समेत सबै घटना स्मृतिमा लिने अवस्था आएको बताएकी छिन्।

झाँक्रीले “जिन्दगीमा के लानु छ कमरेड? लाने त यति त हो एउटा मिठो वा तितो स्मृति, चिया पशलमा पुग्दा बोल्ने दुई जना मान्छे।” भन्दै नेताको अन्तिम सम्पत्तिको रूपमा जनमानसको स्मृतिलाई महत्त्व दिएकी छिन्।

उनले भनेकी छन्, “बाँकी जीवनको सुखद होस्… तपाई जहाँ रहे पनि हाम्रो अभिभावको हो। मैले यसरी सधै सम्झने छु।”