February 16, 2025, Sunday
२०८१ फाल्गुन ४

निजामती दिवसमा रोहिणीमा वृक्षारोपण, अब कर्मचारीलाई पुरस्कृत गरिने

भैरहवा– निजामती सेवा दिवसको अवसरमा रोहिणी गाउँपालिकामा वृक्षारोपण गरिएको छ । वडा नम्बर २ को कार्यालय, पोखरभिण्डी माध्यमिक विद्यालय, पोखरभिण्डी स्वास्थ्य चौकी र प्रहरी चौकी मैनहियामा बृक्षारोपण गरिएको हो ।

धुपी, निम, बेल, हर्रो, कल्की, टिक, कागती, दालचिनी, सिसौँ र रक्तचन्दन गरि १ सय ६ वटा बिरुवा रोपिएको प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले जानकारी दिए । उनले यो बिरुवा रोपेर मात्र दायित्व पुरा नहुने भन्दै बिरुवा रेखदेखको जिम्मा सम्बन्धित कार्यालयलाई दिएको बताए ।

Advertisement

दिवसको अवसरमा रोहिणद्वारा आयोजित बृक्षारोपण कार्यक्रममा अध्यक्ष सनोजकुमार यादवले उत्कृष्ट कर्मचारीहरुलाई यस दिन सम्मान एवम् पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन् । गाउँपालिकाका स्वास्थ्यकर्मी एवं अन्य कर्मचारीले पनि आफ्नो परिवारको माया मारेर गाउँवासी ४० हजार स्थानीयको सेवामा खटिएको भन्दै प्रंशसा गरे । कोभिडको समयमा स्वास्थ्यकर्मीहरु स्वास्थ्य कार्यालयको ब्यवस्थापन एवं बिरामीको सेवाको साथै क्वारेन्टाइन ब्यवस्थापनमा खटिएको र अन्य कर्मचारीहरु पनि लकडाउनको समयमा खाद्यन्न आपूर्तिको साथै आन्तरिक काममा खटिएकाले पालिकाले धेरै नागरिकको ज्यान जोगाउन सकेको बताए ।

उनले सबै कर्मचारीको सम्मान र स्थानीय प्रशासन चुस्तदुरुस्त तथा स्वस्थ प्रतिस्पर्धी बनाउन एवं कर्मचारीहरुको सम्मानका लागी पुरस्कारको घोषणा गरिएको बताए । पुरस्कार यसै वर्षदेखि प्रदान गरिने उनले जानकारी दिए । यस वर्ष समय गइसकेकोले आउँदो हिउँदे अधिवेशनको खुल्ला सत्रमा र आगामी दिनहरुमा दिवसकै दिन पुरस्कार वितरण गर्ने र यसको कार्यविधि बनाएर कार्यपालिकाबाट पारित गराउने समेत उनले बताए ।

यादवले स्थानीय जनप्रतिनिधि र कर्मचारी प्रशासन एकै रथका दुई पाङग्रा भएको बताउँदै दुवै पक्ष मिलेर गए मात्र गाउँपालिका र यसको सेवाग्राहीको विकास हुनेमा जोड दिए । उनले आफ्नो ४ वर्षे कार्यकालमा कर्मचारीहरुप्रति अपनत्व भावना राखेको कारण दुवै पक्षमा कुनै प्रकारको तिक्तता नआएको बताए ।

प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले पनि कर्मचारी प्रशासन र जनप्रतिनिधि एक भएर काम गर्नुपर्ने बताए । उनले जनप्रतिनिधिहरुले बनाएको नीति–नियम कर्मचारी प्रशासनले चुस्तदुरुस्त रुपमा कार्यान्वयन गर्नुपर्ने दायित्व रहेको बताए । निजामती सेवाको आदर्श र अस्तित्व राज्यसँग प्रत्यक्ष जोडिएको हुने र राज्यले आफ्ना नागरिकलाई आफ्नो उपस्थिति र न्यायमा आधारित प्रशासनको प्रदान गर्न निजामती कर्मचारीहरुको सहयोग लिएको उनले बताए ।

नेपालमा हरेक वर्ष भदौ २२ मा देशभरि बिभिन्न कार्यक्रम गर्दै निजामती सेवा दिवस मनाइन्छ । सोही अनुसार आगामी ५ वर्षका लागि “ब्यवसायिक श्रृजनशील प्रशासन, विकास, समृद्धि र सुशासन” भन्ने मूल नारासहित यो दिवस मनाइएको छ ।