October 14, 2026, Wednesday
२०८३ आश्विन २९ बिहीबार

वर्षापछि अवरुद्ध गुल्मीका तीन सडक सञ्चालनमा

गुल्मी— भारी वर्षापछि अवरुद्ध गुल्मीमा मुख्य तीन सडक सञ्चालनमा आएका छन् । जिल्लास्थित कालीगण्डकी करिडोर, मदनभण्डारी राजमार्ग र रुद्रवेणी–वामी सडक पूर्णरूपमा सुचारु भएका हुन् । गत साता निरन्तर वर्षा भएपछि यी सडक अवरुद्ध भएका थिए । विभिन्न स्थानमा रहेको अवरोध हटाएपछि सडक सञ्चालनमा आएका हुन् ।

Advertisement

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक भीमकिरण बोगटीका अनुसार एक सातादेखि अवरुद्ध कालीगण्डकी करिडोरका धेरै ठाउँमा पहिरो हटाएपछि बुधबार साँझदेखि सुचारु भएको हो । कालीगण्डकी करिडोरअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ राक्सेसहित चार ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।

Advertisement

मदनभण्डारी राजमार्गअन्तर्गत रुरुक्षेत्र गाउँपालिका–१ सालबिसौनामा सडक अवरुद्ध थियो । एकतर्फी सुचारु भएको यो सडक अहिले पूर्णरूपमा सञ्चालनमा आएको छ । रुद्रवेणी–वामी खण्डमा चन्द्रकोट गाउँपालिका–७ सिस्नेभीरमा सडक अवरुद्ध रहेको थियो । सत्यवती गाउँपालिका–६ मा उल्लिखोलामा बाढीले सडक नै कटान गरेको थियो । उक्त सडक पनि सुचारु भएको बोगटीले बताए ।

स्थानीय पालिका, सम्बन्धित सडक कार्यालय र निर्माणाधीन सडकको हकमा निर्माण व्यवसायीसँग समन्वय गरेर सडक खुलाइएको हो । बुधबार साँझदेखि गुल्मीका तीनवटै मुख्य सडक पूर्णरूपमा सुचारु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक भीमकिरण बोगटीले बताए । रेसुंगा विमानस्थल हुँदै जाने सहायक मार्ग भने सडक भासिँदा अवरुद्ध छ । रेसुंगा नगरपालिका–१० सिमिचौरमा अवरुद्ध उक्त सडकले सिमिचौर र राङबाससँगको सञ्जाल टुटेको छ ।