भारी वर्षा र हावाहुरीको जोखिम भएको भन्दै सिद्धार्थनगरका विद्यालयमा विदा



भैरहवा– सम्भावित भारी वर्षा, हावाहुरी तथा चट्याङको जोखिमलाई मध्यनजर गर्दै सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रका सबै सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
नगरपालिकाको शिक्षा शाखाले बिहीबार सूचना जारी गर्दै विद्यालय बन्द गर्न सम्बन्धित सबै विद्यालयलाई जानकारी गराएको हो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको असोज ७ गतेको पत्रअनुसार ८ गतेदेखि ११ गतेसम्म नेपालका विभिन्न स्थानमा भारी वर्षा हुने तथा अति भारी वर्षा, हावाहुरी र चट्याङ पर्न सक्ने सम्भावना रहेको जानकारी प्राप्त भएको नगरपालिकाले सूचनामा उल्लेख छ ।
जल तथा मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त जानकारीका आधारमा सम्भावित जोखिमलाई मध्यनजर गर्दै नगरपालिकाअन्तर्गत सञ्चालित सबै सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालय बन्द गर्ने निर्णय गरिएको सूचनामा उल्लेख गरेको छ ।
नगरपालिकाले अन्य वार्षिक बिदासँग मिलान हुने गरी २०८३ साल असोज ९ गते विद्यालय बन्द गर्न–गराउन सम्बन्धित विद्यालयहरूलाई अनुरोध गरेको छ । मौसममा आएको प्रतिकूलताका कारणले गर्दा विद्यार्थी तथा विद्यालय परिवारको सुरक्षालाई प्राथमिकतामा राख्दै यस्तो निर्णय गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले प्राकृतिक विपद्को जोखिमयुक्त समयमा बालबालिकालाई नदी, खोला, पोखरीको किनार तथा अन्य जोखिमयुक्त क्षेत्रमा नजान आग्रह गरेको छ । साथै, अभिभावक तथा विद्यालय परिवारलाई उच्च सतर्कता अपनाउँदै बालबालिकालाई सुरक्षित राख्न अनुरोध गरिएको छ ।
भारी वर्षा र हावाहुरीका कारण सडक तथा अन्य क्षेत्रमा जोखिम बढ्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन पनि नगरपालिकाले आग्रह गरेको छ । विद्यालय बन्दको अवधिमा बालबालिकाको सुरक्षामा विशेष ध्यान दिन अभिभावकहरूलाई अनुरोध गरिएको छ । विद्यालय शुक्रबार विदा हुनेछन् ।








प्रतिकृया दिनुहोस्