June 7, 2026, Sunday
२०८३ जेष्ठ २४ आईतवार

‘समृद्ध नेपाल, सुखी नेपाली’ नारा सफल बनाउन मलाई जिताउनुस्ः एमाले उम्मेदवार घिमिरे

Advertisement

भैरहवा– नेकपा एमाले रुपन्देही क्षेत्र नम्बर ३ का उम्मेदवार बासुदेव घिमिरेले आफू स्थानीय तह र संसदमा काम गरेर खारिएको नेता भएकाले जनताको पक्षमा काम गर्न आफूलाई जिताउनु पर्ने बताएका छन् । एमाले नेतृत्वमा ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियान सुरु भएकाले त्यसलाई सफल बनाउन र जनताको परिवर्तनको चाहना पूरा गर्न पनि आफूलाई बिजयी गराउन उनले अनुरोध गरे ।

Advertisement

वर्तमान राजनीतिक सन्दर्भमा निर्वाचन केवल सत्ता प्राप्तिको प्रतिस्पर्धा नभएको उनले बताए । ‘राजनीतिक स्थिरता, आर्थिक पुनःरुत्थान र सुशासन सुनिश्चित गर्ने निर्णायक अवसर हो,’ उनले भने, ‘यसपटक सत्ता परिवर्तनका लागि नभई विकासको दिशा परिवर्तन पनि मेरो उम्मेदवारी हो ।’ रूपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रथम नगरप्रमुख र संघीय सांसदको रूपमा आफूले संगालेका अनुभव कार्यान्वयनका लागि पनि यसपटक जनताले अवसर दिनुपर्ने बताए ।

यसपटक निर्वाचनमा विजय हासिल गरेपछि संघीय, प्रदेश र स्थानीय सरकारसँगको सहकार्य र समन्वयमा रुपन्देही–३ को विकास लागि उनले प्रतिवद्धता जाहेर गरेका छन् । क्षेत्र अन्तर्गतका ३६ वडाकै सन्तुलित, समन्यायिक र समग्र विकासलाई प्राथमकितामा राखेको उनले बताए । आफूले गर्ने काममा कुनै पनि विभेद नहुने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यता अनुसार काम गर्दै आएको घिमिरेले जनाए ।

आफूले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमता तथा दिगो रूपमा सञ्चालनमा ल्याउन नीतिगत प्रबन्ध गर्ने जनाएका छन् । यस क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटकको बसाइँ अवधि लम्ब्याउन जिल्लामा रहेका धार्मिक, सांस्कृतिक एवं पर्यटकीय स्थानको सञ्जाल निर्माण गरिने घिमिरे बताउँछन् । ‘क्षेत्रीय पर्यटन करिडोर निर्माण गरी होमस्टे, होटल तथा सेवा व्यवसाय प्रवर्द्धन गरिनेछ,’ उनले भनेका छन्, ‘बेलहिया नाका हुँदै भित्रिने पर्यटकलाई शक्यमुनि बुद्धको जन्मस्थल लुम्बिनी प्रवेश भएको अनुभूति हुने गरी भौतिक तथा मानवीय विकास गरिनेछ ।’

सिद्धार्थनगरमा रहेको डण्डा करिडोरलाई निर्माण गरी सौन्दर्यकरण र बोटिङसहितको पर्यटकीय क्षेत्रमा रूपन्तरण गरिने उनले प्रतिवद्धता जनाएका छन् । मोतिपुरमा थारू संग्राहलयको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइने जनाएका छन् । बैठौलियास्थित कपरकट्टी ताललाई थप व्यवस्थित गरी स्थानीयस्तरमा रोजगारीका अवसरसँग आवद्ध गरिने उनको भनाई छ । ‘नरैनापुर धामलाई व्यवस्थित गरी धर्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गरिनेछ,’ उनले भने, ‘बुटवल–१५ मा रहेको राष्ट्रिय परोपकार कुञ्जधामको विकास र प्रवर्द्धन गरिनेछ ।’

यसका साथैं बाउन्नकोटी सामुदायिक वनभित्र रहेका नन्द भाउजू ताल, ऐतिहासिक मन्दिर र वनभोज स्पटलाई सौन्दर्यकरण गर्दै पर्यटकीय क्षेत्रको रूपमा विकास गरिने अवधारण उनले सार्वजनिक गरेका छन् । सियाभार मन्दिर, ऐतिहासिक दरवाह क्षेत्र र बौद्ध विहारको थप विकास गरी पर्यटन प्रवर्द्धन गरिने उनको भनाई छ । ‘कृषि, रणनीतिक महत्व र महत्वपूर्ण सडकहरूको स्तरोन्नती गरी कालोपत्रे गरिनेछ,’ उनले भने, ‘सिद्धार्थनगर–८, बसडिलवा, चिलिया, कैलाशनगर, जीतपुर, देवीनगर, अमुवा हुँदै सूर्वपुरा जोड्ने सडक स्तरोन्नतिको कार्यलाई पहल गरिनेछ ।’

सिद्धार्थ राजमार्गको ओमसतिया लखनचोकदेखि कैलाशनगर, बाउन्नकोटी, सुपौली सडक स्तरोन्नति गरी कालोपत्रे गरिने उनको प्रतिवद्धता छ । ‘बुटवल–बेलवास–बेथरी सडकलाई निर्माण सम्पन्न गरी सौन्दर्यकरण गरिनेछ,’ उनले भने, ‘तामनगर, फर्साटिकर, बनघुसडी, छपिया हुँदै बेथरी निस्कने सडकको स्तरोन्नति गरिनेछ । बुटवलको रामनगर, योगिकुटी, मोतिपुर, मोतिनगर, महादैया चोक हुँदै बनकट्टा जोड्ने सडकको निर्माण कार्य सम्पन्न गरिनेछ ।’ केदली, भुजौली हुँदै फोटहीसम्मको सडकलाई स्तरोन्नति गरी कालोपत्रे गर्ने उनले बताए । साथै मोतिनगर बेलभरिया, उजेलापुर, महिया चोक हुँदै मुक्तिघाटसम्मको सडक निर्माण सम्पन्न गरिने उनले प्रतिबद्धता व्यक्त गरे ।

रुपन्देही–३ मा मेरो जित सुनिश्चित : बासुदेव घिमिरे

मतदाताको विश्वास नै हाम्रो सबैभन्दा ठूलो शक्ति होः एमाले उम्मेदवार घिमिरे