राजनीतिक दल तथा उम्मेदवारलाई निर्बाचन आयोगको ६४ बुँदे निर्देशन


भैरहवा–फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन प्रति केन्द्रित रहदै निर्वाचन आयोगले राजनीतिक दल तथा उम्म्ेदवारहरुलाई ६४ बुँदे निर्देशन जारी गरेको छ । निर्बाचन आचारसंहिताको पूर्ण पालना गर्ने तर्फ ध्यानाकर्षण हुने गरि आयोगले आइतवार राजनीतिक दल तथा उम्मेदवारहरुलाइ निर्देशन सहितको प्रेस बिज्ञप्ती जारी गरेको हो ।
दलहरुले मतदातालाई कुनै किसीमको लोभ लालच, आर्थिक प्रलोभन, डर धाक धम्की, धर्म भकाउने तथा प्रतिज्ञा गराउने, सामाजिक बहिष्कार गर्ने तथा सामाजिक प्रतिष्ठामा आँच पुर्याउने जस्ता कार्य नगर्न अनुरोध गरिएको छ । कुनैपनि उम्मेदवार तथा परिवारको चरित्रमा आँच पुग्ने खालको अभिव्यक्ति तथा गतिबिधि नगर्न सचेत गराइएको छ ।
उम्मेदवारहरूले फागुन ४ गतेदेखि फागुन १८ गतेसम्म मात्र जुलुस, आमसभा, कोणसभा र घरदैलो गर्न पाउने, प्रचारप्रसारका कार्यक्रम बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्न मिल्ने उल्लेख छ ।
मतदान हुनुभन्दा ४८ घण्टा अघिदेखि मतगणना पूरा नभएसम्म कुनै पनि प्रकारको प्रचारप्रसार गर्न निषेध गरिएको छ । निर्वाचनसम्बन्धी खर्च गर्दा अनिवार्य रूपमा बैङ्क वा वित्तीय संस्था मार्फत गर्नुपर्ने र २५ हजार रुपैयाँभन्दा धेरै आर्थिक सहयोग लिँदा बैङ्क खातामार्फत मात्र लिनुपर्ने भनिएको छ ।
दल तथा उम्मेदवारले निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र खर्चको पूर्ण विवरण आयोगमा बुझाउनुपर्ने छ । टिसर्ट, टोपी, झोला, मास्क वा लकेटजस्ता निर्वाचन चिन्ह अङ्कित सामग्री वितरण र प्रयोग गर्न नमिल्ने, ७५ ग्रामको कागजमा ३०० वर्ग इन्चसम्मको एउटै रङ्गको पर्चा मात्र वितरण गर्न पाइने, डिजिटल बोर्ड, फ्लेक्स र भित्ते लेखन पूर्ण रुपमा निषेध गरिएको छ । निर्वाचन अधिकृतको अनुमति लिएर बढीमा दुईवटा सवारी साधन मात्र प्रयोग गर्न पाइनेछ । सरकारी सवारी साधनको प्रयोगमा पूर्ण प्रतिबन्ध लगाइएको छ ।
निर्वाचनका कुनै पनि कार्यक्रममा बालबालिकालाई प्रयोग गर्न रोक लगाइएको छ । निर्वाचन कार्यक्रममा प्लास्टिक वा पोलिथिनजस्ता सामग्रीको प्रयोग गर्नपनि रोकिएको छ । निर्वाचनका वेला प्रयोग भएका प्रचार सामग्रीको उचित व्यवस्थापन सम्बन्धित दल तथा उम्मेदवारले नै गर्नुपर्ने वारे सचेत बनाइएको छ । बहुदलिय सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थामा आँच पुर्याउने, कुनै जात, बर्ग वा सम्प्रदायबीचको सम्बनधमा खलल पुर्याउने गतिबिधि गर्न पाइनेछैन ।
निर्बाचन प्रचारप्रसारका क्रममा सरकारी तथा सार्वजनिक सम्पत्तिको प्रयोग गर्न पाइने छैन । एक दल वा उम्मेदवारले प्रयोग गर्न अनुमती लिएको सवारी साधन अर्को दल वा उम्मेदवारले प्रयोग गर्न नपाइने लगायतका बिषयमा आयोगले ध्यानाकर्षण गराएको छ ।








प्रतिकृया दिनुहोस्