४ सय ८० जना निर्बाचन प्रहरीलाई भैरहवामा दशदिने प्रशिक्षण


भैरहवा–आउँदो फागुन २१ गते हुन गैरहेको प्रतिनिधि सभा सदस्यको निर्बाचन अन्तर्गत रुपन्देही–३ मा खटिने निर्बाचन प्रहरीका लागि दश दिने प्रशिक्षण तालिम सम्पन्न गरिएको छ । रुपन्देही–३ अन्तर्गत विभिन्न मतदान केन्द्रमा शान्ति सुरक्षाका लागि खटिने ४ सय ८० जना निर्बाचन प्रहरीलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भैरहवामा प्रशिक्षण दिएको हो ।
निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन छोटो अवधिका लागि आवश्यक पर्ने सुरक्षाकर्मीका लागि निर्बाचन प्रहरीको व्यवस्था गरिने भए अनुरुप रुपन्देहीमा कुल ४ हजार १९ जना निर्बाचन प्रहरीको भर्ना गरिएको थियो । भैरहवामा प्रशिक्षण लिएका ४ सय ८० जना बाहेक अन्य निर्बाचन प्रहरीलाई सम्बन्धित निर्बाचन क्षेत्र अन्र्तगत रहेका इलाका प्रहरी कार्यालयले प्रशिक्षण दिने छन् ।
प्रशिक्षण समापन कार्यक्रममा बोल्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले प्रशिक्षण लिएका प्रहरीलाई आफ्नो जिम्मेवारीबोधका साथ कर्तव्य निर्वाह गर्न आग्रह गरे । प्रशिक्षण लिएका निर्बाचन प्रहरीले आफ्नो कमाण्डरबाट प्राप्त निर्देशन र आदेशलाई पूर्ण रूपमा पालना गरी निर्वाचन प्रक्रियालाई सफल बनाउन महत्वपूर्ण भूमिका खेल्नुपर्ने उनले बताए । निर्वाचनको समयमा कुनै पनि किसिमको पक्षपात, डर, त्रास वा अव्यवस्थालाई स्थान नदिई आम मतदाताको विश्वास जित्ने गरी शान्ति सुरक्षाको वातावरण कायम राख्नु पर्नेमा प्रजिअ पोखरेलको जोड थियो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक जनक शाहीले ड्युटीको क्रममा निडर, अनुशासित र इमानदार भएर काम गर्न निर्बाचन प्रहरीहरुलाई निर्देशन दिए । निर्वाचन जस्तो संवेदनशील समयमा नियम कानुनको पालना सबैभन्दा महत्वपूर्ण हुने उनले बताए । कसैले नियम कानुनको उल्लङ्घन गरेको पाइएमा तत्काल सेवाबाट हटाइने चेतावनी दिदै उनले भने, ‘यस विषयमा कुनै सम्झौता हुँदैन । सवैले उच्च सतर्कता र सावधानी अपनाउन मेरो आग्रह छ ।’
दश दिने प्रशिक्षणका क्रममा सहभागी निर्बाचन प्रहरीहरुलाई निर्वाचन सुरक्षाका चुनौती, भीड व्यवस्थापन, मतपेटिका सुरक्षा, आपतकालीन अवस्थामा सामना गर्ने उपाय लगायतका विषयमा व्यवहारिक प्रशिक्षण दिइएको थियो ।








लेखकको सम्वन्धमा