June 7, 2026, Sunday
२०८३ जेष्ठ २४ आईतवार

चेम्बर अफ कमर्स रूपन्देहीका स्थापना दिवसका कार्यक्रम सुरु

Advertisement

भैरहवा– निजी क्षेत्रको संस्था चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) ले आफ्नो स्थापना दिवसका अवसरमा आयोजना गर्न लागिएका कार्यक्रमहरु सुरु गरेको छ । पहिलो दिन संस्थाले शुक्रबार योग तथा ध्यान शिविर गरेको छ । आफ्नो १९ औं स्थापना दिवसको अवसरमा ध्यान शिविर सम्पन्न गरिएको संस्थाका अध्यक्ष सचिन रोक्काले जानकारी दिए ।

Advertisement

‘आज ध्यान शिविर गरेर कार्यक्रमको सुरुवात भएको छ, हामीले स्थापना दिवसमा अवसरमा विभिन्न कार्यक्रम गर्दै छौं, ती सबै कार्यक्रम आफ्ना सदस्य तथा आमनागरिक लक्षित छन्’, उनले भने । यही माघ २२ गते संस्थाको स्थापना दिवस हो ।

माघ १७ गते मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता आयोजना गरिएको छ । सिद्धार्थनगर नगरपालिका–९ स्थित उदयपुरमा बिहान ७ः३० बजेदेखि प्रतियोगिता सुरु हुने संयोजक तथा कार्यसमिति सदस्य शिवम जयसवालले बताए । माघ १८ गते सामाजिक सेवा अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीमा सामग्री हस्तान्तरण गरिने छ ।

माघ १९ मा ओमसतिया गाउँपालिका–४ बालापुरस्थित श्री सत्य साई वृद्धा आश्रममा खाद्यान्न सामग्री वितरण गरिनेछ । माघ २० गते सिद्धार्थनगर नगरपालिका–९ स्थित संस्थाको सभाहलमा बिहान १०ः३० बजेदेखि माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ ।

माघ २१ गते सिद्धार्थनगर नगरपालिका–९ स्थित प्रभातपथदेखि उदयपुरसम्म सरसफाई कार्यक्रम आयोजना गरिएको छ । माघ २२ गते स्थापना दिवस तथा सम्मान कार्यक्रम संगठनको सभाहलमा गरिने महासचिव लक्ष्मी अधिकारीले बताइन् ।