कुष्ठरोग निवारण घोषणा भएको पाल्पामा हरेक बर्ष भेटिन्छन् बिरामी


भैरहवा–१६ वर्षअघि कुष्ठरोग निवारण जिल्ला घोषणा गरिएको पाल्पा जिल्लामा हरेक वर्ष कुष्ठरोगका बिरामी भेटिने गरेका छन् । २०६६ साल माघ ५ गते पाल्पालाई कुष्ठरोग निवारण जिल्ला भनेर घोषणा गरिएको थियो ।
स्वास्थ्य कार्यालय पाल्पाका अनुसार अघिल्लो आर्थिक वर्षमा पाल्पाको तानसेन नगरपालिकामा ४ जना, रैनादेवी छहरा गाउँपालिकामा १, माथागढी गाउँपालिकामा १, निस्दी गाउँपालिकामा ३, पूर्वखोला गाउँपालिकामा १, रामपुर नगरपालिकामा ५, तिनाउ गाउँपालिकामा ३ जना गरी १८ जना कुष्ठरोगी फेला परेका थिए ।
चालु आर्थिक वर्षको ६ महिनामा रामपुरमा २, पूर्वखोलामा १, बगनासकालीमा १, रैनादेवी छहरामा १, तिनाउमा १ र निस्दीमा २ जना फेला परेका छन् । स्वास्थ्य कार्यालय र स्थानीय तहले सक्रिय बिरामीको खोजपहिचान, कुष्ठरोग रोकथाम कार्यक्रम, जनचेतनामूलक तथा क्षमता अभिवृद्धि कार्यक्रम गर्दै आएका छन् ।
स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख टुकप्रसाद पोखरेलले अहिलेपनि जिल्लाका सबै पालिकामा बसोवास गर्नेमा कुष्ठरोगको किटाणु रहेको संभावना प्रबल रहेको बताउँछन् । उनका अनुसार, कुष्ठरोग लागेपछि अनुहार र कानका लोतीमा गिर्खा देखिनु, छाला चम्किलो र बाक्लो हुनु तथा आँखीभौं झर्नु, हातखुट्टा लगातार झमझम गर्नु, स्नायु सुन्निनु, दुख्नु, हातखुट्टा छुँदा थाहा नहुनु, मांसपेशीहरू कमजोर हुनु जस्ता लक्षण देखिन्छ ।
अझै पनि कुष्ठरोगका कारण हुने अपांगता दर उच्च रहेको छ भने स्थानीय संक्रमणदरमा कमी आएको छैन । स्वास्थ्य कार्यालयका अधिकृत विश्वनाथ न्यौपाने कुष्ठरोगप्रति सामाजिक भेदभाव विद्यमान रहेको बताउँछन । भेदभाव र लाञ्छनाका कारण कुष्ठरोगीहरु समाजमा खुल्न नसक्दा समस्या जटिल बन्ने गरेको भनाइ उनको छ ।








प्रतिकृया दिनुहोस्