June 6, 2026, Saturday
२०८३ जेष्ठ २४ आईतवार

विश्वकै प्रतिष्ठित पदक भिक्टोरिया क्रस प्राप्त गर्ने रानाको भार्सेमा सालिक

Advertisement

भैरहवा–गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका–७, फोक्सिङका कर्ण बहादुर रानाले कलिलो उमेरमैं बीर गोर्खा सैनिक बनेर आफ्नो बीरताको परिचय दिए । प्रथम बिश्व युद्धमा बीरतापुर्वक युद्ध प्रदर्शन गरेका रानाले १९ बर्षको उमेरमैं बेलायत सरकारबाट सर्वोच्च सैनिक सम्मान भिक्टोरिया क्रस पदक प्राप्त गर्न सफल भए । राना कम उमेरमा विश्वकै प्रतिष्ठित पदक भिक्टोरिया क्रस प्राप्त गर्ने व्यक्ति हुन् ।

Advertisement

५३ बर्ष अघि देहान्त भएका स्व.रानाको अहिले गुल्मीको सत्यवती गाउँपालिका–८ भार्सेमा सालिक स्थापना गरिएको छ । ‘लाहुरे गाँउ’ को रुपमा परिचित भार्सेमा लाहुरेको इतिहास जीवित राख्न र अध्ययन केन्द्र बनाउन भूपू गोर्खा ग्यालरी र भार्से ग्यालरी निर्माण गरिएको छ ।

सन् १८९८ मा जन्मिएका रानाले प्रथम विश्वयुद्धमा जर्मन सेनाविरुद्धको लडाइँमा प्रदर्शन गरेको साहस, बलिदान र कर्तव्यनिष्ठताका कारण बेलायतका राजा जर्ज पाँचौँबाट भिक्टोरिया क्रस पाएका थिए । सन् १९७३ मा ७४ वर्षको उमेरमा देहान्त भएका रानाको भार्से ग्यालरीअगाडि सालिक स्थापना गरिएको हो । भार्से भूपू सङ्घको नेतृत्वमा करिब १६ लाख रुपैयाँ खर्च गरेर रानाको सालिक निर्माण गरिएको हो ।

रानाको सालिक र ग्यालरी निर्माण गरेर इतिहास जोगाउने योजनाका परिकल्पनाकार भने लेफ्टिनेन्ट कुलबहादुर बुढाथोकी हुन् । भार्सेमा जन्मिएर हाल हङकङमा रहेका बुढाथोकीको नेतृत्वमा ग्यालरी स्थापना गरिएको हो । उनले ग्यालरी निर्माणका लागि अहिलेसम्म ५७ लाख भन्दा बढी रकम व्यक्तिगत रुपमा लगानी गरिसकेका छन् । भार्से लाहुरे गाउँ प्राकृतिक, सांस्कृतिक र पर्यटकीय हिसाबले मात्रै नभएर ऐतिहासिक रूपले समेत अध्ययन केन्द्र बनेको छ ।

भार्सेबाट प्रथम विश्वयुद्ध लड्ने ८४ जना र दोस्रो विश्वयुद्ध लड्ने १ सय ७८ जना रहेको जनाइएको छ । भूपू गोरखा ग्यालरीमा पहिलो र दोस्रो विश्वयुद्ध लडेका अहिलेसम्म ३४ जना दिवङ्गत व्यक्तिको तस्बिर र सक्षिप्त विवरण राखिएको छ । रानाको सालिक स्थापनाले दिवङ्गत तथा जीवित सम्पूर्ण लाहुरेहरूको सम्मान भएको बुढाथोकी बताउँछन् । इतिहास संरक्षणका लागि व्यक्तिगत अग्रसरतामा सालिक स्थापना गरिएको भन्दै स्थानीयवासीले बुढाथोकीप्रति आभार प्रकट गरेका छन् ।