June 12, 2026, Friday
२०८३ जेष्ठ २९ शुक्रबार

युवाहरूको आवाजले मलाई अर्को बाटो अपनाउन बाध्य बनायोः नेता गुप्ता

Advertisement

कपिलवस्तु– एमाले नेता तथा पूर्वप्रतिनिधि सभा सदस्य बृजेशकुमार गुप्ताले आफूले एमाले छाडिसकेको जनाएका छन् । सोमबार सामाजिक संजाल फेसबुकमा लामो स्टाटस लेख्दै उनले सो कुरा उल्लेख गरेका हुन् ।

Advertisement

‘विगत केही दिनयता सामाजिक सञ्जालमा मेरो बारेमा उठेका विभिन्न विचारहरू, सकारात्मक होस् वा नकारात्मक, म सबैलाई हृदयदेखि नै नियालिरहेको छु । ती सबैमा मलाई लिएर जिज्ञासा, चिन्ता, आशा र कहिलेकाहीँ निराशासमेत मिसिएको पाएको छु । यो देख्दा मेरो मन अमिलिन्छ, तर साथै गर्व पनि लाग्छ किनकि यो सबै तपाईंहरूको माया र अपेक्षाको प्रमाण हो’, उनले भनेका छन्, ‘म स्पष्ट गर्न चाहन्छु मलाई निर्वाचनमा विजयी बनाउने पनि तपाईंहरू नै हुनुहुन्छ, र पराजित गर्ने पनि तपाईंहरू नै । जनता नै मेरो सबैभन्दा ठूलो शक्ति र मार्गदर्शक हुनुहुन्छ । तपाईंहरू मेरो सोचको आधार, मेरो आदर्शको स्रोत, मेरो दुःख–सुखको साझेदार हुनुहुन्छ । तपाईंहरूले जे चाहनुहुन्छ, म त्यही गर्न तयार छु किनकि मेरो जीवनको हरेक पाइला तपाईंहरूकै लागि हो ।’

उनले आफू विगतमा एउटा साधारण इन्जिनियर भएको सम्झिएका छन् । ‘यो राजनीतिक यात्रामा मलाई ल्याउने काम पनि यिनै मेरो प्यारा क्षेत्रवासीहरूले गर्नुभयो । तपाईंहरूको विश्वास र उत्साहले नै मलाई यो बाटोमा डोर्यायो । अब मेरो सम्पूर्ण जीवन तपाईंहरूको सेवा र समर्पणमा नै अर्पित छ । यो कुरा म हृदयबाट भन्छु तपाईंहरू बिना म केही पनि होइनँ,’ उनले भनेका छन्, ‘हो, ममा पनि मान्छे भएर केही कमी–कमजोरी अवश्य होलान् । तिनै कमजोरीहरूले गर्दा यसपटक तपाईंहरूले मलाई प्रतिनिधि सभा सदस्यको रूपमा योग्य ठान्नु भएन । यदि तपाईंहरूको मनमा म अब राजनीतिबाट सन्यास लिनुपर्छ भन्ने भावना छ भने, मलाई त्यो पनि स्वीकार्य छ । खुसी–खुसी म पछाडि हट्न तयार छु ।’

तर यो कुरा कहिल्यै नबिर्सनुहोस् मसँग सपना छ, जीवन छ । ‘हरेक पढेलेखेका व्यक्तिमा जस्तै ममा पनि देश र समाजलाई राम्रो बनाउने सोच र योजना प्रशस्त छन् । केवल सही अवसर र परिस्थिति नमिलेका कारण ती सपनाहरू अझै पूर्ण रूपमा फल्न सकेका छैनन्’, उनले भनेका छन्, ‘देशमा घटेका विभिन्न घटनाक्रमहरूले मेरो मनलाई गहिरो रूपमा छोयो । जेनजीका युवा साथीहरूको अनुरोधले मलाई नयाँ जिम्मेवारीको बोध गरायो । तिनै घटना र तिनै युवाहरूको आवाजले मलाई अर्को बाटो अपनाउन बाध्य बनायो । म त्यो बाटोमा हिँडिरहेको छु र सधैँ हिँडिरहनेछु किनकि मैले सबैको सम्मान गर्न सिकेको छु, सबैको भावनालाई आत्मसात् गर्न सिकेको छु ।’

उनले आमजनताको माया र साथ सधैँ आफ्ना लागि सबैभन्दा ठूलो सम्पत्ति भएको जनाएका छन् । ‘यदि म फेरि अवसर पाएँ भने पूर्ण मनले सेवा गर्नेछु । यदि नपाएँ भने पनि तपाईंहरूको सुख–शान्तिको कामना गर्दै शान्तिसँग बस्नेछु’, उनले भनेका छन् ।