June 18, 2026, Thursday
२०८३ असार ४ बिहीबार

दाउन्नेमा शीतलहरले सास्ती, सडक चिप्लो हुँदा जामले हैरानी

Advertisement

परासी– वर्खामा हिलो, दिउँदमा धुँलो र चिसो मौसममा शीतलहरले दाउन्ने खण्डको सडक अवरुद्ध हुन थालेको धेरै वर्ष वितिसकेको छ । पछिल्लो केही दिनदेखि जारी अत्यधिक शीतलहर र बाक्लो हुस्सुका कारण पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडक खण्ड अन्तर्गत दाउन्ने क्षेत्र पूर्ण रूपमा प्रभावित हुँदै आएको छ ।

Advertisement

अहिले नारायणगढ–बुटवल सडक विस्तारको काम चलिरहेकाले धेरै ठाउँमा सडक खनिएको छ । शीतलहरको ओसका कारण निर्माणाधीन सडकको माटो हिलाम्य हुँदा सवारी साधनहरू बीच बाटोमै फस्ने र चिप्लिने समस्या देखिएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय अनुसार दाउन्नेदेखि दुम्कीबास जंगलसम्म करिब १ हजार ५ सय सवारी साधनको लामो लाइन लागेको छ । प्रहरीले जाम हटाउने प्रयास गरे पनि बाक्लो हुस्सुका कारण दृश्यता कम हुँदा उद्धार र सवारी सञ्चालनमा निकै कठिनाइ भइरहेको छ ।

चिसोका कारण सडक चिप्लो र हिलाम्य भएपछि सवारी साधनहरू उकालोमा उक्लिन नसक्दा खुर्सानी खोला क्षेत्रमा ठूलो जाम लागेको छ । जसका कारण सयौँ सवारी साधन र हजारौँ यात्रुहरूले कठ्याङ्ग्रिँदो चिसोमा सडकमै रात बिताउनु परेको छ ।

सडक खण्डको अवस्था नाजुक भएपछि नारायणगढ–बुटवल सडक योजनाले आज एक सूचना जारी गर्दै अत्यावश्यक बाहेकका सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ । खुर्सानी खोला क्षेत्रमा हाल ग्राभेल हाल्ने काम भइरहेको र मालबहाक सवारी साधनलाई बर्दघाट तथा भुताहा क्षेत्रमा रोकिएको इन्जिनियर विकास खनालले जानकारी दिए । यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै ट्राफिक नियमको पूर्ण पालना गर्न समेत आग्रह गरिएको छ ।

आयोजक र ट्राफिक प्रहरीले यात्रा सहज बनाउन वैकल्पिक मार्गहरू प्रयोग गर्न सुझाएका छन् । नारायणगढ–मुग्लिन–पोखरा–स्याङ्जा–पाल्पा हुँदै बुटवल जान सुझाइएको छ । यस्तै, गैंडाकोट (कालीगण्डकी चोक)–रामपुर–पिपलडाँडा मार्ग, काठमाडौंबाट बुटवल वा पश्चिम जाने सवारीका लागि मुग्लिन–पोखरा खण्ड प्रयोग गर्न आग्रह गरिएको छ ।