November 14, 2026, Saturday
२०८३ कार्तिक २८ शनिबार

काँग्रेस लुम्बिनीको निर्णयः राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारको नामावली केन्द्रमा पठाइने

Advertisement

भैरहवा– नेपाली कांग्रेस लुम्बिनी प्रदेशले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि जिल्लाहरूबाट प्राप्त आकांक्षी उम्मेदवारहरूको नामावली आवश्यक रायसहित केन्द्रमा पठाउने तयारी गरेको छ । प्रदेश कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो ।

Advertisement

प्रदेश समितिको दाङमा बसेको बैठकले राष्ट्रिय सभाका साथै प्रतिनिधि सभाको प्रत्यक्ष र समानुपातिकतर्फ कतिपय जिल्ला तथा क्षेत्रबाट नाम छुटेका उम्मेदवारहरूको हकमा समेत विधानअनुसार आवश्यक राय सल्लाहसहित केन्द्रमा पठाउने निर्णय गरेको जनाइएको छ ।

बैठकले पार्टीको संगठन सुदृढीकरण र क्रियाशील सदस्यता व्यवस्थापनका सम्बन्धमा पनि महत्त्वपूर्ण निर्णयहरू गरेको छ । कांग्रेसको क्रियाशील सदस्य नवीकरण तथा नयाँ क्रियाशील सदस्यता वितरणका लागि प्रदेशका २६ वटा निर्वाचन क्षेत्रमा आवश्यक समन्वय गर्न प्रतिनिधि खटाउने निर्णय गरिएको छ । खटाइएका प्रतिनिधिहरूले एक हप्ताभित्र प्रतिवेदन बुझाउनुपर्ने समय सीमा तोकिएको नेपाली कांग्रेस लुम्बिनी प्रदेशका मुख्य सचिव मोहनराज शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी बैठकले पार्टीको १५औँ महाधिवेशन निर्धारित समयभित्रै सम्पन्न गर्न सबै पक्षलाई जिम्मेवार र संयमित भएर अगाडि बढ्न आग्रह गरेको छ । बैठकले गत भदौ २४ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य आरजु राणा देउवामाथि भएको सांघातिक हमलाप्रति गहिरो दुःख पनि व्यक्त गरेको छ । जेनजी आन्दोलनमा मृत्यु भएका व्यक्तिहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै बैठकले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ ।