रावलको एमाले महाधिवेशनप्रति टिप्पणी– एमालेमै रहँदा मैले उठाएका मागहरू सही रहेछन्


नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी महाधिवेशनप्रति तिखो प्रतिक्रिया दिएका छन् । उनले आफूले एमालेमै रहँदा उठाएका मागहरू सही रहेछन् भन्ने पुनः एकपटक पुष्टि भएको जिकिर गरेका छन् ।
सामाजिक सञ्जालमार्फत उनले भनेका छन्–’एमालेमा रहँदा दशौँ महाधिवेशनमा मैले विधि, पद्धति, स्वच्छ निर्वाचन, सिद्धान्त र राष्ट्रियताको पक्षमा अडेर अध्यक्ष पदमा उम्मेदवारी दिँदा कतिपयले केपी शर्मा ओलीसँगको व्यक्तिगत इवी र विरोधको रूपमा चित्रित गर्ने चेष्टा गरेका थिए। मेरो उद्देश्य पार्टीलाई विधि, पद्धति अनुरूप देशको सर्वोपरि हितको दिशामा अगाडि बढाउने र महाधिवेशनमा निर्वाचन स्वच्छ वातावरणमा भई प्रतिनिधिहरूले चुन्ने र चुनिन पाउने अधिकारको निर्बाध उपयोग गर्ने स्थिति बनोस् भन्ने थियो । तर ओलीबाट त्यो प्रक्रिया अवरुद्ध पारियो। ‘
रावलले थप भनेका छन्– ‘अहिले घटनाक्रमबाट त्यसबेला मैले उठाएको कुरा कति सही रहेछ भन्ने स्पष्ट भएको छ। अहिले धेरैले केपीको निरंकुश, स्वेच्छाचारी प्रवृत्ति र व्यवहारलाई स्वयं भोगेका र देखेका छन्। अतः एमालेको एघारौँ महाधिवेशन त्यस्तो प्रवृत्ति र व्यवहारबाट पार्टीलाई मुक्त गर्दै स्वयं पार्टी, देश र जनताको हितमा सङ्गठनलाई उपयोगी बनाउने अवसरको रूपमा प्रतिनिधिहरूले उपयोग गर्न सके भने उचित हुनेछ।’








प्रतिकृया दिनुहोस्