June 6, 2026, Saturday
२०८३ जेष्ठ २४ आईतवार

दुई बर्षमा बन्नु पर्ने शीत भण्डारले १३ बर्षमा मुर्तरुप पाउँदै

Advertisement

भैरहवा–बिदेशी दातृ निकाय समेतको लगानीमा ११ बर्ष अघि निर्माण सम्पन्न भैसक्नु पर्ने शीत भण्डारको निर्माण कार्य १३ बर्षमा बल्ल पुरा हुने अवस्थामा पुगेको भन्ने समाचारले धेरैलाई आश्चर्य बनाउन सक्छ ।

Advertisement

पाल्पाको तानसेन नगरपालिका–७, बाघखोरमा निर्माण थालिएको शीत भण्डारले १२ बर्षसम्म मुर्तरुप पाउन नसकेको हो । उक्त शीत भण्डारले यस बर्ष बल्ल मुर्तरुप पाउने अवस्थामा पुगेको छ । निर्माण कार्य अन्तिम चरणमा छ ।

तानसेन नगरपालिका अनुसार, भारतीय राजदूतावासको ४ करोड ४ लाख ४४ हजार ४ सय १० रुपैयाँ र तानसेन नगरपालिकाको ५५ लाख ४७ हजार ४ सय ६९ रुपैयाँ लागत साझेदारीमा उक्त शीत भण्डार निर्माणको थालनी भएको थियो । २ वर्षमा काम सम्पन्न गर्ने गरी २०६९ फागुन २३ गते ठेक्का भएको थियो ।

तानसेन नगरपालिकाका इन्जिनियर रामप्रसाद श्रेष्ठले शीत भण्डारका लागि भवन निर्माण कार्य सकिए पनि सञ्चालनका लागि आवश्यक मेसिनरी सामग्री अझै आउन बाँकी रहेको बताएका छन् । २०७१ सालमै भवन निर्माणको काम थालनीसँगै मेसिनसमेत आउनुपर्नेमा विभिन्न कारणले ढिलाई भएको भनाइ उनको छ ।

४ रोपनी क्षेत्रफलमा २ सय मेट्रिक टन क्षमताको शीत भण्डारको मुख्य भवनसँगै वरपरको भागमा तारबार, फूलबारी, कार्यालय भवन, गार्ड रुम लगायतका निर्माण कार्य सकिएका छन् । निर्माणका लागि हिमदुङ एण्ड ठोकर÷जय रक्तकाली जेभी निर्माण कम्पनीसँग सम्झौता भएको थियो । जय रक्तकाली निर्माण कम्पनीले काम सुरु गरेको भए पनि बीचमैं अलपत्र छाडेको थियो ।

नगरपालिकाको दबाबपछि निर्माण कम्पनीले काम सम्पन्न गरेको इन्जिनियर श्रेष्ठले जनाए । पाल्पा, गुल्मी, स्याङ्जा जिल्लामा उत्पादन हुने सुन्तला, आलु, जुनार लगायतका कृषिजन्य उपजलाई ध्यानमा राखेर उक्त शीत भण्डारको निर्माण गरिएको हो । नजिक शीत भण्डार नहुँदा त्यस क्षेत्रका कृषि उपज राख्न भैरहवा धाउनु पर्ने बाध्यतालाई किसानलाई छ ।