June 7, 2026, Sunday
२०८३ जेष्ठ २४ आईतवार

पशुपति कलेजले मनायो २०औँ वार्षिकोत्सव

Advertisement

भैरहवा– रूपन्देहीको तिलोत्तमा नगरपालिका– वडा नम्बर १६ मा रहेको पशुपति कलेजमा मंगलवार २०औँ वार्षिकोत्सव मनाइएको छ । कलेजको स्थापना भएको दुई दशक पूरा भएको अवसरमा कलेजले विद्यार्थीहरूको क्षमता अभिव्यक्ति र रुचिको विकासलाई लक्षित गर्दै विभिन्न कार्यक्रम आयोजना गरेको थियो ।

Advertisement

उत्सवका अवसरमा शैक्षिक, सांस्कृतिक, साहित्यिक तथा खेलकुदका विविध प्रतियोगिताहरू सम्पन्न भएका छन् । विद्यार्थीहरूलाई सिर्जनशील, प्रतिस्पर्धात्मक र नेतृत्व गुण विकास गराउने लक्ष्यसहित कविता, वक्तृत्व, चित्रकला, नृत्य, खेलकुद लगायतका कार्यक्रम प्रस्तुत गरिएको कलेजले जनाएको छ ।

वार्षिकोत्सव कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले सामुदायिक कलेजले स्थानीयस्तरमा शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताए । उनले संघ, प्रदेश र स्थानीय सरकारबाट सामुदायिक कलेजलाई निरन्तर सहयोग आवश्यक रहेको बताए ।

कलेज सञ्चालक समितिका अध्यक्ष लीलाबल्ल गैरेले कलेजले विगत २० वर्षमा समुदाय, अभिभावक र शिक्षकको संयुक्त प्रयासबाट शैक्षिक क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको बताए । सामुदायिक कलेजले शिक्षाको पहुँच विस्तार, गुणस्तर उन्नयन र विद्यार्थीमैत्री वातावरण निर्माणमा अग्रसर हुँदै आएको उनले बताए ।

कार्यक्रममा वार्षिकोत्सवको अवसरमा गरिएका सप्ताहव्यापी कार्यक्रममा उत्कृष्ट भएका विद्यार्थीलाई पुस्कार वितरण गरिएको छ । त्यस्तै त्रिविले लिएको परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विभिन्न अक्षयकोषदाताले स्थापना गरेको छात्रवृति प्रदान गरिएको क्याम्पस प्रमुख जितबहादुर रास्कोटीले जानकारी दिए । वार्षिकोत्सवको अवसरमा अक्षयकोषदाता, कलेज सभा सदस्य, कलेज संरक्षक सदस्य लगायतलाई सम्मान गरिएको थियो । कार्याममा तिलोत्तमा नगरपालिका उपप्रमखु जोश्वरी देवी चौधरी, वडा नं. १६ का अध्यक्ष भबिलाल भूसाल, क्याम्पस प्रमुख जितबहादुर राजस्कोटी, तिलोत्तमाका सामाजिक विकास संयोजक रवि सेन्चुरी, अक्षयकोषदाता जानकीदेवी कोइराला लगायतले मन्तव्य राखेका थिए ।