June 12, 2026, Friday
२०८३ जेष्ठ २९ शुक्रबार

प्रमुख प्रशासकीय अधिकृतसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Advertisement

भैरहवा– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको मायादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

Advertisement

आयोगले पुरानो पेस्की फछ्र्यौट नभएको अवस्थामा पनि नियमविपरीत थप पेस्की दिने र आपसी मिलेमतोमा सरकारी रकम हिनामिना गर्न सहयोग गरेको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरू रामचन्द्र ढकाल, कृष्णप्रसाद तिमिल्सिना र परमेश्वर यादव, तत्कालीन लेखा अधिकृत प्रकाश गौतम, लेखापाल तुलसीराम पौडेल र लेखा सहायक गिरिराज गौतमलाई विपक्षी बनाई मुद्दा दायर गरेको छ ।

गाउँपालिकामा कार्यरत अधिकृत छैटौँ यादवले स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्न लिएको पेस्की रकम काम सम्पन्न नगरी र बिल भरपाई पेस नगरी हिनामिना गरेको आरोपमा आयोगले आइतबार मुद्दा दायर गरेको छ । यादवले आर्थिक वर्ष २०७५–७६ देखि २०७८–७९ सम्म पटक–पटक लिएको पेस्कीमध्ये ४६ लाख सात हजार रुपैयाँ बराबरको बिल भरपाई पेस नगरी र सो रकम फिर्ता नगरी सरकारी सम्पत्ति हिनामिना गरेको पाइएको आयोगले जनाएको छ ।

आयोगले आरोपीहरूबाट हिनामिना भएको बिगो रकम असुलउपर गर्न र भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद तथा जरिवानाको मागदाबी गरेको छ ।