अन्धोपन तथा दृष्टिदोषको न्यूनीकरणमा लुम्बिनी सरकारले प्राथमिकता दिने



दाङ –लुम्बिनी प्रदेश सरकारले अन्धोपन तथा दृष्टिदोषको समस्या न्यूनीकरण गर्दै गुणस्तरीय आँखा उपचार सेवालाई सर्वसाधारणको पहुँचमा पुर्याउन लगानी वृद्धि गर्ने भएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आँखा स्वास्थ्यलाई प्राथमिकतामा राखेर सेवा विस्तार, दक्ष जनशक्ति व्यवस्थापन र उपचार प्रणालीलाई प्रभावकारी बनाउने गरी योजनाबद्ध काम अघि बढाइने बताएका छन् ।
नेपाल नेत्रज्योति सङ्घले मङ्गलबार दाङको लमहीमा आयोजना गरेको आँखा सेवाप्रदायक संस्थाबाट हुने कार्बन उत्सर्जन र त्यसका असरसम्बन्धी अनुसन्धान प्रतिवेदन सार्वजनिक कार्यक्रममा उनले सङ्घले तयार पारेको पाँचबर्षे रणनीतिक योजनालाई प्रदेश सरकारले प्राथमिकताका साथ कार्यान्वयन गर्ने बताए ।
‘प्रदेशका सबै नागरिकले सहज रूपमा आँखा उपचार सेवा प्राप्त गर्ने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध छ’ मुख्यमन्त्री आचार्यले भने ।
सङ्घले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले लुम्बिनी ५० वर्ष वा सोभन्दा माथिका १३ हजार ९४ जना अन्धोपनबाट प्रभावित रहेको र उक्त उमेर समूहमा दुवै आँखाको अन्धोपनको प्रचलन १.७ प्रतिशत रहेको देखाएको छ ।
दृश्य तीक्ष्णताका आधारमा कम दृष्टि भएका व्यक्तिको अनुपात २७ प्रतिशत रहेको अध्ययनले देखाएको छ । यसबाट प्रदेशका २ लाख ७ हजार ९५७ जना प्रभावित भएको प्रतिवेदनमा उल्लेख छ ।
अध्ययनले विशेषगरी ग्रामीण क्षेत्र र आर्थिक रूपमा कमजोर समुदायका नागरिकले आँखा उपचारमा सहज पहुँच प्राप्त गर्न नसकेको र दक्ष स्वास्थ्यकर्मीको अभाव, उपचारका लागि अन्य स्वास्थ्य संस्थामा पठाउने प्रक्रियामा कमजोरी तथा उपचारपछिको नियमित अनुगमन प्रभावकारी नहुनु पनि प्रमुख समस्याका रूपमा औँल्याएको छ ।
उपचारबाट निको पार्न सकिने अन्धोपन रोकथामका कार्यक्रमलाई समुदायस्तरसम्म विस्तार गर्नुपर्नेमा समेत जोड दिइएको छ ।
प्रदेश स्वास्थ्यमन्त्री दीपेन्द्र पुनले आँखा स्वास्थ्यसम्बन्धी रणनीति प्रभावकारी रूपमा कार्यान्वयन गर्न पर्याप्त बजेट विनियोजन र दक्ष जनशक्तिको व्यवस्था गर्नुपर्ने बताए ।
वन तथा वातावरणमन्त्री तुलसीप्रसाद चौधरीले वातावरण संरक्षण र कार्बन उत्सर्जन न्यूनीकरणका योजनालाई प्रदेश सरकारले प्राथमिकतामा राखेको जनाए ।
नेपाल नेत्रज्योति सङ्घको पाँचबर्षे रणनीतिक योजनामा उपचारबाट रोक्न सकिने अन्धोपन न्यूनीकरण, विकेन्द्रीकृत तथा एकीकृत आँखा स्वास्थ्य सेवाको विस्तार, सेवा प्रवाहमा समानता र समावेशिता तथा स्वास्थ्य प्रणालीको सुदृढीकरण र दिगोपनालाई मुख्य प्राथमिकतामा राखिएको छ ।








प्रतिकृया दिनुहोस्