November 7, 2026, Saturday
२०८३ कार्तिक २१ शनिबार

सीमा क्षेत्रका अपराध नियन्त्रण गर्न सहकार्य गर्ने सहमति

Advertisement

भैरहवा—लुम्बिनी प्रदेशका सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि, अवैध चोरीनिकासी तथा पैठारी नियन्त्रणका लागि सूचना आदानप्रदानका लागि नेपाल र भारतका सशस्त्र प्रहरीबीच सहकार्य गर्ने सहमति भएको छ ।

Advertisement

रुपन्देहीको लुम्बिनीमा सोमबार सम्पन्न सशस्त्र प्रहरी बल, नेपाल र सशस्त्र सीमा बल (एसएसबी), भारतको दशौं डीआईजीस्तरीय समन्वयात्मक बैठकले सीमा अपराध नियन्त्रणमा मिलेर काम गर्ने सहमति भएको हो ।

बैठकमा समयमै सीमा स्तम्भको मर्मत तथा सम्भार, मानव तस्करी, नक्कली मुद्रा ओसारपसार तथा कारोबार र लागुऔषध नियन्त्रणका विषयमा पनि सहकार्य गर्ने समझदारी भएको छ । गैरकानुनी रूपमा नेपाल प्रवेश गर्न खोज्ने तेस्रो देशका नागरिकको निगरानी र नियन्त्रणमा समेत दुवै पक्षले समन्वय गर्ने भएका छन् ।

सशस्त्र प्रहरी बल, विन्ध्यवासिनी बाहिनी मुख्यालय कपिलवस्तुले आयोजना गरेको बैठकको नेतृत्व विन्ध्यवासिनी बाहिनीका बाहिनीपति डीआईजी दीपक अधिकारीले गरेका थिए । भारतीय सशस्त्र सीमा बलका तर्फबाट सेक्टर हेडक्वार्टर लखीमपुर खिरीका उपमहानिरीक्षक बी. विक्रमनले नेतृत्व गरेका थिए ।

बैठकमा लुम्बिनी प्रदेशका सीमासँग जोडिएका जिल्लाका सशस्त्र प्रहरी गणपतिहरू तथा भारतीय सशस्त्र सीमा बल सेक्टर हेडक्वार्टर गोरखपुरका उपमहानिरीक्षक दीपक बरनवाल सहभागी थिए । गोरखपुर र लखीमपुर खिरी सेक्टर हेडक्वार्टर मातहतका पाँच–पाँचवटा बटालियनका बटालियन कमान्डर पनि बैठकमा उपस्थित थिए ।

बैठकमा दशगजा क्षेत्रमा संयुक्त गस्ती गर्ने तथा खेलकुद र विभिन्न सामाजिक गतिविधिलाई निरन्तरता दिने विषयमा पनि छलफल भएको थियो । यसअघि २०८३ वैशाख २२ मा भारतको एकीकृत जाँच चौकी रुपैडिहामा सम्पन्न नवौं समन्वयात्मक बैठकका एजेन्डामाथि समेत समीक्षा गरिएको थियो ।

बैठकले औंल्याएका साझा विषय प्रभावकारी रूपमा कार्यान्वयन गर्ने र आगामी रणनीतिबारे पनि छलफल भएको थियो ।