बुटवल आएर शंकर पोखरेलले उठाए सरकारका कामप्रति प्रश्न, के–के भने ?



बुटवल– नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारका पछिल्ला गतिविधिले लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिक अधिकारमाथि नियन्त्रण बढाउँदै मुलुकलाई स्वेच्छाचारिता र अधिनायकवादतर्फ धकेल्ने जोखिम बढेको भन्दै सरकारको कार्यशैलीप्रति गम्भीर प्रश्न उठाएका छन् । उनले सरकार संविधान र कानुनी सीमाभित्र नरहेको हो कि भन्ने आशंका बढेको टिप्पणी गर्दै लोकतान्त्रिक व्यवस्थाको रक्षाका लागि राजनीतिक दलहरु एकजुट हुनुपर्ने बताए ।
प्रेस चौतारी नेपाल, रुपन्देहीले बुटवलमा आयोजना गरेको कार्यक्रममा पोखरेलले राज्यका संवैधानिक निकाय, सुरक्षा अंग, राजनीतिक दल, सञ्चारमाध्यम र नागरिक समाजमा सरकारप्रति संशय र असन्तुष्टि बढ्दै गएको बताए । सरकार बाह्य शक्तिको प्रभावमा परिचालित भएको हो कि भन्ने आशंका मुलुकभित्र मात्र नभई छिमेकी देशहरूमा समेत उत्पन्न भएको उनको दाबी थियो ।
नेता पोखरेलले सरकारले नागरिकको संगठित हुने र विचार अभिव्यक्त गर्ने संवैधानिक अधिकारमाथि नियन्त्रण गर्न खोजेको आरोप लगाए । ‘विद्यार्थी संगठनका गतिविधिमा विश्वविद्यालय तथा क्याम्पसमा प्रतिबन्ध लगाउने प्रयास, ट्रेड युनियन र व्यावसायिक संगठनका गतिविधि नियन्त्रण गर्न खोजिएको तथा समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गरिएको विषयले सरकारको कार्यशैलीमाथि प्रश्न उठाएको छ’, उनले भने । सञ्चारमाध्यममा कार्यरत पत्रकारलाई पक्राउ गर्नु गैरकानुनी र गैरसंवैधानिक भएको टिप्पणी गर्दै महासचिव पोखरेलले प्रधानमन्त्रीका प्रमुख सल्लाहकारले पत्रकारलाई लक्षित गरी दिएको अभिव्यक्तिप्रति पनि आपत्ति जनाए ।
पोखरेलले सरकारले राज्यका विभिन्न अंगलाई कार्यकारीको अधीनमा राख्न खोजेको आशंका पनि व्यक्त गरे । पासपोर्ट खरिद प्रकरण र सुनकोशी मरिन डाइभर्सन आयोजनाको टेन्डर प्रक्रियामा बाहिर आएका घटनाले सार्वजनिक खरिद प्रणाली र प्रशासनिक प्रक्रियाको पारदर्शितामाथि प्रश्न उठाएको उनको भनाइ थियो । जलवायु परिवर्तनका कारण उत्पन्न विपद्बाट मुलुकले ठूलो आर्थिक क्षति व्यहोर्नुपरे पनि सरकारले राष्ट्रिय एकता कायम गरी संकट सामना गर्न पर्याप्त तत्परता नदेखाएको पोखरेलको आरोप थियो ।
विपद्का बेला नागरिकले राज्यको उपस्थिति महसुस गर्न सकेनन् । विगतका भूकम्प, कोभिड महामारी लगायत संकटका समयमा राज्यले निर्वाह गरेको भूमिकासँग वर्तमान अवस्थाको तुलना गरे । पोखरेलले सरकारलाई संविधान र कानुनको बाटोमा हिँडाउन नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीलगायत संविधान निर्माण तथा लोकतान्त्रिक आन्दोलनमा भूमिका खेलेका दलहरूबीच सहकार्य आवश्यक रहेको बताए । ‘राष्ट्रिय स्वतन्त्र पार्टीले समेत आफ्नै सरकारलाई संविधान र कानुनअनुसार सञ्चालन गर्न भूमिका खेल्नुपर्ने उनको धारणा थियो । यद्यपि, वर्तमान राजनीतिक परिस्थितिको जिम्मेवारी पुराना राजनीतिक दलहरूले पनि लिनुपर्ने पोखरेलले स्वीकार गरे ।
विगतमा जनताको विश्वास जित्न नसकेकै कारण नयाँ राजनीतिक शक्तिहरूको उदय भएको उल्लेख गर्दै उनले एमाले, कांग्रेसलगायत दलले आफ्ना कमजोरी पहिचान गरी सुधार गर्नुपर्ने बताए ।
लुम्बिनी प्रदेशमा मुख्यमन्त्री परिवर्तनको विषयमा पत्रकारहरुले राखेको जिज्ञासामा बोल्दै सरकार परिवर्तनको चर्चाले राजनीतिक अस्थिरता बढाउने भएकाले त्यसमा अनावश्यक बहस गर्न नहुने उनको धारणा थियो । कार्यक्रममा उनले पुराना राजनीतिक दलहरूको नेतृत्व परिवर्तनबारे उठ्ने प्रश्नको जवाफ दिँदै एमाले र कांग्रेसले संस्थागत प्रक्रियाअनुसार नेतृत्व अद्यावधिक गर्दै आएको दाबी गरे ।
लुम्बिनी प्रदेशको विकासबारे बोल्दै पोखरेलले बुटवललाई आर्थिक राजधानीका रूपमा विकास गर्ने अवधारणा अनुसार आफु मुख्यमन्त्री रहँदा बुटवलमा प्रदेशकै ठूलो परियोजनाका रूपमा लुम्बिनी प्रादेशिक अस्पतालको योजना अगाडि सारिएको उल्लेख गरे । अब प्रदेश राजधानीको विषय उठाएर बुटवल र दाङबीच प्रतिस्पर्धा गराउनुभन्दा सिंगो लुम्बिनी प्रदेश र मुलुकको विकासलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो ।








प्रतिकृया दिनुहोस्