दुई राउण्ड हवाई फायर गरी खैरो हेरोइनसहित दुईजना पक्राउ



भैरहवा– हवाई फायर गरी कपिलवस्तुबाट दुईजना लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिइएको छ । जिल्लाको बाणगंगा नगरपालिका–३, राजापानी क्षेत्रमा भारत तर्फबाट लागु औषध भित्र्याइ कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट प्रहरी टोली खटिएको थियो ।
आइतबार उक्त स्थानमा खोजतलास तथा अनुसन्धान गर्दै जाँदा प्रहरीमाथि नै प्रतिकार गरेपछि हवाई फायर गरेर दुईजनालाई नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेमा जिल्लाको बाणगंगा नगरपालिका–११ का ३४ वर्षीय सलाउदिन मुसलमान र बाणगंगा–१२ का २८ वर्षीय उमेश थारु छन् ।
उनीहरुको साथबाट प्रहरीले लागु औषध खैरो हेरोइन २८.८२० ग्राम, भारतीय नम्बर प्लेटको एउटा मोटरसाइकल, २ थान मोबाइल पनि नियन्त्रणमा लिएको छ । प्रहरीमाथि नै प्रतिकार गर्न लागेपछि स्थिति नियन्त्रणमा लिन चेतावनीस्वरूप २ राउण्ड हवाई फायर गरी उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
पक्राउ परेका दुबैजनामाथि आवश्यक अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तु बुझाइएको लागु औषध नियन्त्रण ब्यूरोका सह–प्रवक्ता (प्रहरी नायव उपरीक्षक जीवन निरौलाले जनाएका छन् ।








प्रतिकृया दिनुहोस्