November 7, 2026, Saturday
२०८३ कार्तिक २१ शनिबार

सिद्धार्थनगरको पहिचान झल्किने लोगो र नगरगान बनाउन आह्वान, ३० दिनभित्र प्रस्ताव पेस गर्नुपर्ने

Advertisement

भैरहवा– रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले नगरको ऐतिहासिक, भौगोलिक, प्राकृतिक, सामाजिक, सांस्कृतिक तथा आर्थिक पहिचान झल्किने नगर प्रतीक चिह्न (लोगो) र नगरगान निर्माणका लागि सार्वजनिक आह्वान गरेको छ ।

Advertisement

नगरपालिकाले नगरको मौलिकता, ऐतिहासिक महत्व, सांस्कृतिक विविधता र आधुनिक पहिचानलाई समेटेर लोगो तथा नगरगान तयार गर्न इच्छुक व्यक्ति तथा सर्जकलाई प्रस्ताव पेस गर्न सूचना जारी गरेको हो ।

नगरपालिकाले नगर प्रतीक चिह्न (लोगो) डिजाइन तयार गरी पेस गर्ने सम्बन्धी सूचना दोस्रो पटक प्रकाशित गर्दै पुनः ३० दिनको समय दिएको छ । यसअघि प्रकाशित सूचनाअनुसार निर्धारित समयभित्र पर्याप्त डिजाइन प्राप्त नभएकाले प्राप्त भएका प्रतीक चिह्नलाई यथावत् राखी पुनः सूचना प्रकाशित गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले तयार हुने लोगोमा सिद्धार्थनगरको ऐतिहासिक तथा सांस्कृतिक महत्व र यस क्षेत्रको आर्थिक, सामाजिक तथा पर्यटकीय केन्द्रका रूपमा रहेको विशेषता झल्किनुपर्ने जनाएको छ । लोगोमा सिद्धार्थनगरको चिनारी झल्किने कुनै सांकेतिक चिह्न प्रयोग गर्नुपर्नेछ । साथै, प्रतीक चिह्न कलात्मक र मापनयोग्य हुनुपर्नेछ ।

छनोट भएको प्रतीक चिह्नको सम्पूर्ण अधिकार नगरपालिकामा निहित रहनेछ । डिजाइनकर्ताले अन्य प्रयोजनमा प्रयोग गर्न वा नक्कल गर्न पाउने छैनन् । छनोट समितिबाट आवश्यकताअनुसार परिमार्जनको सुझाव आएमा डिजाइन परिमार्जन गरी स्वीकृत गर्न सकिने व्यवस्था गरिएको छ । उत्कृष्ट लोगो डिजाइनकर्तालाई नगरपालिकाले उचित पारिश्रमिक तथा सम्मानपत्रद्वारा सम्मानित गर्ने जनाएको छ ।

त्यस्तै, नगरपालिकाले नगरगान रचना गरी पेस गर्नसमेत आह्वान गरेको छ । नगरगानमा सिद्धार्थनगरको ऐतिहासिक तथा सांस्कृतिक महत्व, आर्थिक, सामाजिक तथा पर्यटकीय केन्द्रका रूपमा रहेको विशेषता, बहुजातीय, बहुभाषिक तथा सांस्कृतिक सद्भाव र एकता समेटिनुपर्नेछ । नगरको दूरदृष्टि, सम्भावना तथा नगरवासीमा गौरवबोध गराउने विषयलाई पनि प्राथमिकता दिनुपर्ने सूचनामा उल्लेख छ ।

नगरगानको रचना गर्दा गीत बढिमा ६० शब्दसम्मको हुनुपर्ने र स्थायी तथा अन्तरा स्पष्ट खुलाइएको हुनुपर्नेछ । रचना पूर्ण रूपमा मौलिक हुनुपर्ने, नेपाली भाषामा सरल, स्पष्ट र सबै उमेर समूहका लागि गाउन योग्य हुनुपर्ने व्यवस्था गरिएको छ । कुनै पनि जाति, भाषा, धर्म वा सम्प्रदायप्रति नकारात्मक टिप्पणी वा द्वेष फैलाउने शब्द समावेश गर्न पाइने छैन । प्रकाशित रचना वा प्रतिलिपि अधिकार उल्लंघन भएको पाइएमा रचना रद्ध गरिने नगरपालिकाले जनाएको छ ।

नगरगान छनोट समितिबाट सर्वोत्कृष्ट ठहरिएको रचनालाई नगरपालिकाले तोकेको पुरस्कार तथा प्रमाणपत्रसहित सम्मान गरिनेछ ।

लोगो डिजाइन पेस गर्न चाहने प्रस्तावकले रङ्गीन र श्यामश्वेत एक–एक प्रति एफोर साइजको कागजमा प्रिन्ट गरिएको डिजाइन, पेनड्राइभ वा कार्यालयको इमेल ठेगानामा डिजाइनको सफ्टकपी, नेपाली नागरिकताको प्रतिलिपि, मौलिक सिर्जना भएको स्वघोषणापत्र तथा प्रयोग गरिएका रङ, चिह्न, आकार र अक्षरको औचित्य खुलाइएको व्याख्यात्मक विवरण पेस गर्नुपर्नेछ ।

त्यसैगरी, नगरगानका सर्जकले रचनासँगै नागरिकताको प्रतिलिपि, छोटो परिचय र सम्पर्क नम्बर समावेश गरी सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र नगरपालिकाको कार्यालयमा खामबन्दी गरी वा इमेलमार्फत पठाउन सक्नेछन् ।

लोगो तथा नगरगान दुवैका प्रस्ताव नगरपालिकाको इमेल ठेगाना siddharthanagar.municipality@gmail.com वा info@siddharthanagarmun.gov.np मा पठाउन सकिनेछ ।

नगरपालिकाले छनोट प्रक्रियामार्फत नगरको पहिचान, मौलिकता र गौरव झल्किने उत्कृष्ट लोगो तथा नगरगान निर्माण गर्ने लक्ष्य लिएको छ । नगरको दीर्घकालीन पहिचान स्थापित गर्ने यी सिर्जनात्मक कार्यमा इच्छुक सर्जक, डिजाइनकर्ता तथा नागरिकलाई सहभागी हुन नगरपालिकाले आग्रह गरेको छ ।