कथा : विवाह जो सरिरहेको छ



किशोरावस्थामा प्रवेश गर्दागर्दै सारिकालाई लाग्न थाल्यो, महिलाको जीवनमा पाइला–पाइलामा काँडा छन्। घरपरिवार, स्कूल, छरछिमेक, बाटोघाटो र सामाजिक परिवेशमा महिलाप्रति गरिने व्यवहार पुरुषप्रतिको व्यवहारभन्दा फरक थियो। सारिका यो भिन्नता देखिरहेकी र भोगिरहेकी थिई।
स्कूलबाट साँझ नपर्दै घर आइपुग्नुपर्ने, घरको काममा आमालाई सघाउनुपर्ने र कतै जानुपर्दा बुबाआमाको अनुमति लिनुपर्ने नियम उसका भाइहरू अजय र सम्राटलाई लागू हुँदैनथ्यो। उनीहरूलाई सबै छुट थियो।
कहिलेकाहीँ सारिका आमासँग लाडिँदै सोध्थी, “मम्मी, मलाई र भाइहरूलाई किन फरक–फरक मापदण्ड? म र भाइहरूमा के फरक छ र?”
“तिमी छोरी हौ नि! पछि तिम्रो विवाह हुन्छ। अर्काको घर सम्हाल्नुपर्छ। भाइहरूजस्तै भएर हिँड्यौ भने मान्छेले कुरा काट्छन्। तिम्रो विवाह गर्न गाह्रो हुन्छ, छोरी।”
आमाका वात्सल्यपूर्ण औँलाहरू सारिकाको कपाल सुमसुम्याउँथे।
कक्षा बाह्र पास गरेपछि घरबाट टाढाको कलेजमा गएर सूचना प्रविधि पढ्ने सारिकाको इच्छा थियो। तर बुबाले घरबाट आउजाउ गर्न सकिने कलेजमा उसलाई बी.एस्सी. पढ्न भर्ना गरिदिए। त्यसको अर्को वर्ष उसको ठूलो भाइ इन्जिनियरिङ पढ्न घरबाट निकै टाढा गयो। फेरि उसले छोरी हुनुको विभेद भोग्नुपर्यो। यसलाई विभेद भनूँ वा नियति!
यसैबीच सारिकाको विवाहको कुरा चल्न थाल्यो। विवाह भएमा पढाइ र भविष्य दुवै अन्धकार हुने उसलाई लाग्यो। कम्तीमा बी.एस्सी. सकेर जागिर खान थालेपछि मात्र विवाह गर्नुपर्छ भन्ने उसको सोच थियो।
आजसम्मको भोगाइले उसलाई सिकाएको थियो— जति सहनशील र डरपोक भइन्छ, त्यति नै प्रतिकूल र अनिच्छित निर्णयहरू जीवनमा थोपिँदै जान्छन्। त्यसपछि जीवन फुटबलजस्तै बन्छ, जो गुडिरहन्छ तर त्यसको दिशा र गति अरूले नै तय गर्छन्। विवाह पनि शिक्षा, पेसा वा घर बनाउनेजस्ता सहज परिवर्तनको विषय होइन।
बुबाआमाको विवाहको प्रस्ताव र आफ्नो पढाइबीच छनोट गर्नुपर्ने भएपछि सारिका प्रतिवाद गर्ने अठोटमा पुगी। एक दिन उसले भनी, “मेरो इच्छा स्नातकोत्तरसम्म पढ्ने हो। तपाईंहरू पढाउनुहुन्छ भने पढ्छु। होइन भने पनि बी.एस्सी. गरेर जागिर नखाई म विवाह गर्न चाहन्नँ। भोलि दुःख पाएँ भने तपाईंहरूको पनि त मन रुन्छ होला नि! दुई–तीन वर्षपछि विवाह गर्दैमा के फरक पर्छ र?”
बुबाको सम्झाउने प्रयासले सारिकालाई लाग्यो, अब एकअर्कालाई बुझ्ने–बुझाउने समय सकिन लाग्यो। यो क्षणमा दृढ हुन नसके उसको अगाडिको यात्रा हिउँले पुरिएर बन्द भएको बाटोजस्तै हुनेछ।
उसले भनी, “बुवा, पढाइ सकेर जागिर नखाएसम्म विवाह गर्न कर नगर्नुहोस्। छोरीको यति सानो इच्छा पनि पूरा गरिदिनुहुन्न?”
दृढ हुन खोज्दाखोज्दै पनि सारिकाका आँखा रसाइसकेका थिए। विद्रोहको ज्वालामुखी ओकलूँलाजस्तो भएको उसको मन क्षणभरमै कमजोर भयो। भावावेशले गला अवरुद्ध भयो। शब्द निस्केनन्। अनपेक्षित परिस्थितिले वातावरण बोझिलो बनायो।
सारिकाका आँसु भरिएका आँखा र अवरुद्ध गलाले बुबाको मन पनि भारी भयो। आमा छोरीको नजिक आइन् र कपाल सुमसुम्याउँदै भनिन्, “भइहाल्यो नि त! छोरीको इच्छा छैन भने उसको लक्ष्य पूरा भएपछि विवाह गरौँला। आफ्नै खुट्टामा उभिन सकेपछि उसको जीवन सुखी हुन्छ। विवाह गरेर गएको घरमा पनि बेग्लै इज्जत हुन्छ, त्यहीअनुसार व्यवहार हुन्छ। पढ्न नपाएकाले मैले यो घरमा वर्षौँसम्म कति बुहार्तन सहनुपर्यो!”
आफूप्रतिको आत्मविश्वास र लक्ष्यप्रतिको लगनशीलता सारिकामा झन् बढ्दै गयो।
अध्ययन, विवाह र जागिरबीचको द्वन्द्वसँग जुध्दै उसले तत्कालका लागि आफ्नो लक्ष्य हासिल गरी। एक वर्षभित्रै बी.एस्सी. विज्ञानमा प्रथम श्रेणीमा उत्तीर्ण भएर शिक्षक सेवामा स्थायी नियुक्ति पाई। उसका बुबाआमा यही समयको व्यग्र प्रतीक्षामा थिए। फेरि विवाहको प्रसङ्ग चल्न थाल्यो र चिना हेराउने क्रम पनि सुरु भयो।
सारिका मानसिक रूपमा विवाहका लागि तयार थिई। तर उसले एम.एस्सी. रसायन विज्ञान पढ्न छात्रवृत्ति पाएकी थिई। त्यसैले बिहान पढ्ने र दिउँसो स्कूलमा पढाउने काम सँगसँगै अघि बढाइरहेकी थिई।
सारिकाको जीवनमा विवाहको कुरा चल्ने, टुट्ने र फेरि अर्कोसँग कुरा अघि बढ्ने क्रम चलिरह्यो।
सारिका कहिलेकाहीँ सोच्थी— विवाहको क्रममा दुवै पक्षले एकअर्काबारे अप्रत्यक्ष रूपमा जानकारी लिन्छन्। उपयुक्त लागे भेटघाट हुन्छ र निष्कर्षमा पुगिन्छ। तर जीवनको सबैभन्दा महत्त्वपूर्ण निर्णय लिन यति नै पर्याप्त छ त?
एकअर्काको बानीबेहोरा, चालचलन, रुचि र भिन्नतालाई सहज रूपमा स्वीकार गर्दै माया र स्नेहको दियो निरन्तर बाल्न सकिन्छ कि सकिँदैन भन्ने कसरी थाहा हुन्छ? बाहिरी व्यवहार र क्षणिक औपचारिकतामा त जोसुकैले पनि शिष्टता र नम्रता देखाउन सक्छ।
सारिका परम्परागत मागी विवाहको विकल्पबारे पनि सोच्थी। प्रेम विवाह पनि कहाँ सजिलो छ र! नेपाली समाजमा प्रेम विवाह तुलनात्मक रूपमा कम सफल हुन्छ भन्ने सुनिन्थ्यो। जति सोचे पनि उसले विवाहका अन्य विकल्प भेट्टाउँदिनथी।
अनिश्चितता र भयको डोरीमा झुल्दाझुल्दै सारिकाले जागिर सुरु गरेको पनि दुई वर्ष भयो। उसले एम.एस्सी.को परीक्षा दिइसकेकी थिई।
केटा हेर्ने क्रममा एकान्तमा भेटघाटको अवसर दिइँदा सारिका चार वर्षअघिको तुलनामा निकै स्पष्ट रूपमा आफ्ना कुरा राख्थी। पहिले ऊ लजाउँथी र अप्ठ्यारो मान्दै सोधिएका प्रश्नको छोटो उत्तर दिन्थी। आफूले केटालाई के सोध्नुपर्छ भन्ने पनि उसलाई थाहा हुँदैनथ्यो।
तर अब परिस्थिति फेरिएको थियो। आफूलाई हेर्न आउने केटाहरू र तिनका आमाबुबासँग सारिका समान हैसियतमा प्रस्तुत हुन्थी। केटापक्षका कतिपय अभिभावक र आफन्तलाई उसको यो व्यवहार स्वीकार्य हुँदैनथ्यो। त्यसैले विवाहको कुरा निष्कर्षमा पुग्दैनथ्यो।
जीवनको सबैभन्दा मूल्यवान् प्राप्तिलाई अर्को महत्त्वपूर्ण प्राप्तिसँग साट्न पनि ऊ चाहन्नथी। आफ्नो स्वतन्त्र अस्तित्व र स्वाभिमानसँग सम्झौता नगरी आफूलाई सम्मान गर्ने र वास्तविक जीवनसाथीका रूपमा स्वीकार गर्ने व्यक्ति कतै न कतै भेटिएला भन्ने उसलाई विश्वास थियो।
आत्मसम्मान र स्वतन्त्र अस्तित्वको मूल्य चुकाएर विवाह गर्नुभन्दा विवाह नगर्नु नै सुखद हुन्छ भन्ने निष्कर्षमा सारिका पुगेकी थिई। -sahityapost








प्रतिकृया दिनुहोस्