पाल्पामा १ करोड ४३ लाखको धानबाली क्षति



पाल्पा– गत असोज दोस्रो साता पाल्पामा आएको बाढीले १ करोड ४३ लाखको धानबाली क्षति भएको छ । असोज ८ देखि ११ गतेसम्मको निरन्तर वर्षाले धानबालीमा क्षति पुर्याएको हो ।
त्यतिबेला भएको फूल खेल्न लागेका, पाक्न लागेका र कतिपयको काट्ने तयारी गरेका धान डुबाएपछि फूल झरेको थियो । पाक्न लागेको धान डुबानमा पर्दा उत्पादनमा कमी आएको किसानको भनाई छ । निरन्तर वर्षाले हजारौं रोपनी क्षेत्रफलमा लगाएको धानबाली बाढीले डुबानमा परेको थियो । कृषि ज्ञान केन्द्र, स्थानीय तहलगायतले डुबानमा परेको धानबालीको अनुगमन गरेर क्षतिको विवरण संकलन गरेका थिए ।
माडीफाँटमा तानसेन नगरपालिका, बगनासकाली, माथागढी र रम्भा गाउँपालिकाका किसानको खेत रहेको छ । यहाँ खोलाले खेत पुरेको छ । खेत नै बगरमा परिणत गरेको छ । अविरल वर्षा र बाढीपहिरोले धानबालीमा ठूलो क्षति पु¥याएको एक महिनापछि बल्ल कृषि ज्ञान केन्द्र पाल्पाले क्षतिको विवरण सार्वजनिक गरेको छ ।
स्थानीय तहले भने कुनै निर्णय सार्वजनिक गरेका छैनन् । धान पाकेर भित्रयाउने समयमा आएको बाढी र हावाहुरीले किसानको बालीमा क्षति पु¥याए पनि प्रभावित किसानले अझै राहत पाउन नसकेको गुनासो गरेका छन् । कृषि ज्ञान केन्द्रले तयार पारेको विवरणअनुसार गत असोज दोस्रो साता परेको अविरल वर्षा, बाढीपहिरो र हावाहुरीका कारण जिल्लामा ९० हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा क्षति पुगेको छ ।
धानबालीमा मात्रै १ करोड ४३ लाख रुपैयाँ बराबरको नोक्सानी भएको केन्द्रकी प्रमुख अमिता पाण्डेयले बताइन् । धानबाहेक तरकारी, सुन्तला, कोदो, टमाटर, फापर र मकैबालीमा समेत क्षति पुगेको छ । यी सबै बालीमा गरी ९७ दशमलव ४५ हेक्टर क्षेत्रफल प्रभावित भएको उनले बताइन् । जिल्लामा कुल १ करोड ७१ लाख १ हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण रहेको प्रमुख पाण्डेयले बताइन् ।








प्रतिकृया दिनुहोस्