November 7, 2026, Saturday
२०८३ कार्तिक २१ शनिबार

बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको स्वामित्व तथा सञ्चालन जिम्मेवारी विकास समितिलाई

Advertisement

भैरहवा– रुपन्देहीको बुटवलस्थित बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको स्वामित्व तथा सञ्चालन जिम्मेवारी औपचारिक रूपमा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिलाई हस्तान्तरण गरिएको छ । सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक दिलिप भण्डारी तथा पूर्वाधार विकास मन्त्रीका सल्लाहकार मधु अर्यालको उपस्थितिमा आयोजित एक कार्यक्रमका बिच सम्मेलन केन्द्रको जिम्मेवारी समितिलाई सुम्पिएको हो ।

Advertisement

कार्यक्रममा सिनियर डिभिजनल इन्जिनियर किर्तिकान्त साहले ‘विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति गठन आदेश, २०८१’ बमोजिम आवश्यक सम्पूर्ण कागजातहरू समितिका कार्यकारी निर्देशक धर्मराज खड्कालाई औपचारिक रूपमा हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण ग्रहण गर्दै कार्यकारी निर्देशक धर्मराज खड्काले सम्मेलन केन्द्रलाई पारदर्शिता, सेवाग्राहीको अधिकतम सन्तुष्टि र उपलब्ध स्रोत साधनहरूको अधिकतम उपयोग गरी सञ्चालन गरिने प्रतिबद्धता जनाए । उनले वर्तमान सरकारको कार्यशैली र गति (स्पिरिट र स्पिड) अनुसार सम्मेलन केन्द्रको भरपुर, व्यवस्थित सञ्चालन तथा प्रभावकारी व्यवस्थापनमा जोड दिइने बताए ।

बुटवलमा निर्मित यो अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका ठूला सभा, सम्मेलन, गोष्ठी तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्न सकिने नेपालकै प्रमुख र आधुनिक संरचनाहरूमध्ये एक हो । सम्मेलन केन्द्रमा मुख्य सभाहलसहित विभिन्न क्षमताका साना–ठूला बहुउद्देश्यीय हलहरू छन्, जहाँ एकैपटक हजारौँ सहभागीलाई सहज रूपमा समेट्न सकिन्छ ।

उच्चस्तरीय ध्वनि प्रणाली, अत्याधुनिक प्रकाश प्रविधि, मल्टिमिडिया डिस्प्ले र अन्तर्राष्ट्रिय स्तरको मञ्च यसका प्रमुख विशेषता हुन् । सम्मेलन केन्द्र परिसरमा विशाल पार्किङ स्थल, हरियाली पार्क, आधुनिक खाजाघर, विशिष्ट व्यक्तिहरूका लागि भीआईपी कक्ष तथा अपाङ्गतामैत्री पूर्वाधारहरू निर्माण गरिएका छन् ।

यो हस्तान्तरणसँगै लामो समयदेखि पर्खाइमा रहेको सम्मेलन केन्द्रको पूर्ण क्षमतामा व्यावसायिक र प्रभावकारी सञ्चालन हुने अपेक्षा गरिएको छ । जसले गर्दा बुटवल तथा समग्र लुम्बिनी प्रदेशको आर्थिक, पर्यटकीय र व्यापारिक गतिविधिमा ठूलो सहयोग पुग्ने विश्वास लिइएको छ ।