नेपाल–भारत पर्यटन परिषद् स्थापनाको तयारी



भैरहवा– नेपाल र भारतबीच पर्यटन प्रवर्द्धन, व्यावसायिक सम्बन्ध विस्तार तथा संयुक्त पर्यटन विकास गर्ने उद्देश्यले आयोजना गरिएको नेपाल–भारत क्रस–बोर्डर टुरिजम कनेक्ट सकिएको छ ।
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् र समृद्ध चितवन अभियानले उक्त कार्यक्रम आयोजनामा गरेका थिए । कार्यक्रमले नेपाल–भारत पर्यटन परिषद् स्थापनाको घोषणा गरेको छ । नेपालमा भारतीय पर्यटकको आगमन बढाउने, भारतमा नेपाली पर्यटनको प्रवर्द्धन गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो । रुपन्देहीस्थित बेलहिया–सुनौली सीमा नाकामा भारतीय प्रतिनिधिमण्डलको भव्य स्वागत तथा औपचारिक समारोहसँगै उद्घाटन गरिएको थियो ।
लुम्बिनी प्रदेश पर्यटन प्रवर्द्धन परिषदकी कार्यकारी निर्देशक शारदा बस्याल बेलबासे, ट्राभल ट्रेड वेलफेयर एसोसिएसन अफ इन्डियाका अध्यक्ष राजेश सिंह, इन्डो–नेपाल टुरिजम वेलफेयर सोसाइटीका प्रतिनिधि डा. केपी सिंह तथा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका वरिष्ठ उपाध्यक्ष रोबिनप्रसाद शेरचन लगायतको उपस्थितिमा कार्यक्रम उद्घाटन गरिएको थियो ।
भ्रमणका क्रममा भारतीय प्रतिनिधि मण्डलले रामग्राम, अमलटारी, मौलाकालिका, सौराहा, मेघौली, चितवन तथा नवलपुरका विभिन्न पर्यटन गन्तव्य, होटल र रिसोर्टको अवलोकन गरेको थियो । सहभागीले रामग्रामको धार्मिक तथा ऐतिहासिक महत्व, अमलटारीको थारू संस्कृति, मौलाकालिकाको धार्मिक पर्यटन, सौराहाको जंगल सफारी तथा मेघौली र नवलपुरको प्राकृतिक सौन्दर्य र आतिथ्य सेवाबारे प्रत्यक्ष जानकारी लिएका थिए । कार्यक्रममा नेपाली होटल तथा रिसोर्ट सञ्चालक र भारतीय ट्राभल तथा टुर अपरेटरबीच व्यवसायदेखि व्यवसाय प्रवर्द्धन भेटघाट, पर्यटन नेटवर्किङ तथा व्यावसायिक अन्तरक्रिया गरिएको थियो ।
चितवनको लटौली रिसोर्टमा आयोजित समापन समारोहमा बागमती प्रदेश सरकारका उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापतिले पर्यटकीय विकासमा कार्यक्रम प्रभावकारी भएको जनाए । कार्यक्रम संयोजक लक्ष्मण थापाले कार्यक्रमका गतिविधि र उपलब्धिबारे जानकारी गराउँदै आफूहरुको उद्देश्य नेपालका गन्तव्यमा अधिक पर्यटक भित्र्याउने रहेको बताए ।
कार्यक्रमकै अवसरमा नेपाल र भारतबीच पर्यटन प्रवर्द्धन तथा दीर्घकालीन व्यावसायिक साझेदारीलाई संस्थागत बनाउन नेपाल–भारत पर्यटन परिषद् स्थापना गर्ने घोषणा गरिएको हो । प्रस्तावित परिषदमा दुवै देशका पर्यटन विज्ञ, ट्राभल तथा टुर अपरेटर, होटल तथा रिसोर्ट सञ्चालक, आतिथ्य क्षेत्रका विशेषज्ञ र अन्य सरोकारवालाहरू समावेश हुनेछन् ।
संयुक्त गन्तव्य प्रचारप्रसार, भेटघाट, संयुक्त पर्यटन प्याकेज निर्माण, अनुभव आदानप्रदान तथा नियमित नेटवर्किङ कार्यक्रम सञ्चालन परिषदका मुख्य उद्देश्य रहनेछन् । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का प्रवक्ता एवं पर्यटन प्रवर्द्धन समितिका संयोजक सोमनाथ सापकोटाले कार्यक्रमलाई भव्य रूपमा सफल बनाउन सहयोग गर्ने सबै सरोकारवालालाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए ।








प्रतिकृया दिनुहोस्